संविधान संशोधनमा पश्चगमन देख्नु नकारात्मक सोच : नेका प्रमुख सचेतक लेखक

संविधान संशोधनमा पश्चगमन देख्नु नकारात्मक सोच : नेका प्रमुख सचेतक लेखक


नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको बताएका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

प्रमुख सचेतक लेखकले भनेका छन्, ‘देशमा सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो । विकासको लक्ष्य हासिल गर्न, अर्थतन्त्र चलायमान बनाउन तथा विकासको गति अघि बढाउन यो समीकरण भएको हो ।’

उनले दुई दलबीच यही असार १७ गते भएको सहमतिको कांग्रेस पदाधिकारी बैठकबाट समर्थन भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डद्वारा राखिएको प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारे ।

उक्त सहमतिका केही ठोस आधार रहेको जानकारी गराउँदै प्रमुख सचेक लेखकले भने, ‘मुलुकलाई ठीक ढङ्गले अघि बढाउन राजीतिक स्थिरता पहिलो आधार हो ।’

उनले प्रधानमन्त्रीले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिनु नै अस्थिरता भएको तर्क गरे । वर्तमान सरकारले प्रचारको राजनीति बाहेक केही नगरेको आरोप लगाउँदै उनले सरकारका मन्त्रीहरुले ‘फाइल खोल्छौँ’ भन्ने र चर्चा कमाउने काममात्र गरेकोे टिप्पणी गरे ।

नेता लेखकले संविधान भनेको निरन्तर चलायनमा हुने दस्तावेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका कमजोरी पक्षको आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिए । यसमा पश्चगमन देख्नु भनेको नकारात्मक सोच भएको उनको तर्क छ ।

संविधानमा भएका कतिपय व्यवस्था १० वर्षमा पुनरावलोकन गर्न सकिने संविधानमै उल्लेख रहेको जानकारी गराउँदै उहाँले त्यो प्रावधान मूल्याङ्कन गरेर संविधानलाई थप बलियो बनाउन समयानुसार संशोधन आवश्यक रहेकामा जोड दिए ।

photo: rss