प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् । आफ्नो डेढवर्षे कार्यकालमा पाँचौंपटक विश्वासको मत मागेका प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पदमुक्त भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा प्रतिनिधिसभाका सांसदहरुमध्ये जम्मा ६३ मत रह्यो भने प्रस्तावको विपक्षमा १९३ मत परेको थियो । नेमकिपाका एक जना सदस्य तटस्थ रहे ।
प्रतिनिधिसभाको आजको बैठकमा २५८ जना सांसद उपस्थित थिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ।
संसद्का दुई ठूला दलबीच संविधान संशोधनलगायत सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी असार १७ मा सातबुँदे समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए । त्यसपछि अल्पमतमा परेका प्रचण्डले राजीनामा नदिएर संवैधानिक सुविधाबमोजिम विश्वासको मत लिएका हुन्, जसमा उनलाई असफलता मिल्यो ।
ज्ञातव्य छ, संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि समझदारी भएको छ । उक्त समझदारी बमोजिम कांग्रेस-एमालेबीच आलोपालोले सरकार चलाउने सहमतिसमेत भएको छ।
सहमतिअनुसार पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने तय गरिएको छ ।
प्रतिक्रिया