मन्त्री छनोटका लागि काङ्ग्रेसले मापदण्ड बनाउने

मन्त्री छनोटका लागि काङ्ग्रेसले मापदण्ड बनाउने


नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मापदण्ड बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार (२९ असार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको हो ।

काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गरिनेछ ।

कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कांग्रेसले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्रीको शपथग्रहणसँगै मन्त्रीले पनि शपथग्रहण गर्नेगरी तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

बैठकले आगामी सरकारमा सहभागी हुने औपचारिक निर्णयसमेत गरेको पार्टी प्रवक्ता डा. महतले जानकारी दिएका छन् ।

ज्ञातव्य छ, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार बेलुकासम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका छन् ।सोहीअनुसार कांग्रेसको साथ लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेस गरिसकेका छन् ।