‘मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ’ : गृहमन्त्री लामिछाने

‘मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ’ : गृहमन्त्री लामिछाने


गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् ।

गृह मन्त्रालयमा आज (३० असार) भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।’

नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो ।

सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गरे । अनुसन्धान जारी रहेकाले सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उनको भनाइ थियो ।

‘हामीलाई लागेको होला केके नै गऱ्यौँ तर हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन् । नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको केही तुक रहँदैन’, गृहमन्त्री लामिछानेले भने । चार महिनामा धेरै काम गर्न नसकिएको बताउँदै केही आधार भने तयार भएको उनको जिकिर छ ।