नवनियुक्त प्रधानमन्त्री केपी ओलीद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी ओलीद्वारा शपथ ग्रहण


चौथो पटक प्रधानमन्त्री बन्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आज (३१ असार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्रीद्वय एवम् मन्त्रीहरुलाई पनि शपथग्रहण गराउनुभएको छ ।

जसअनुसार उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह (शहरी विकास) र विष्णुप्रसाद पौडेल (अर्थ), सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

press: rss