महोत्तरीमा प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिए ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ४० वर्षीय बिजेन्द्र पासवान छन् ।
२२ वर्षसम्म विभिन्न सात ठूला डकैतीमा संलग्न पासवान फरार थिए । उनलाई गएराति करिब ११ बजे महोत्तरी र सर्लाहीको सीमानाका पर्ने महोत्तरीको सोनमा गाउँपालिका-५ शीतलपुरबाट पक्राउ गरिएको हो ।
प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका पासवान सो क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीसँग जम्काभेट भएको थियो । उक्त जम्काभेटमा बिजेन्द्र उम्कन खोजेपछि नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली घुँडामुनि हानेर नियन्त्रणमा लिएको हो ।
गोली प्रहारबाट घाइते बिजेन्द्रको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । उनले पटक-पटक गरी महोत्तरीमा-२, बारामा-२, सिरहामा-१, सर्लाहीमा-१ र सिन्धुलीमा-१ गरी सातवटा लुटपाट तथा डकैतीमा संलग्न रहनुका साथै विभिन्न व्यक्तिलाई हात हतियारबाट घाइते बनाएको निजको आपराधिक अभिलेखमा रहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया