चितवनको भरतपुर-२९ सिमलतालमा गत शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले आज (३१ असार) मात्रै जिल्लामा चारवटा शव भेटिएका जानकारी दिए । नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले बताए ।
आज बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ । यस्तै आजै मध्यविन्दु-२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका-७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिए ।
जिल्लाको गैँडाकोट-७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी-१ का २२ वर्षीय विकास परियारको भएको जनाइएको छ । माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गरेका थिए । माझी काठमाडौंबाट रौतहट जाने गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ख-२४९५ र परियार वीरगञ्जबाट काडमाडौं जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ख-१५१६ नम्बरको बसमा सवार यात्रु भएको जनाइएको छ ।
शनिबार गैँडाकोट-७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले बताए । अन्सारी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रु भएको उनको भनाइ छ । यस्तै, आइतबार साँझ विनयी त्रिवेणी गाउँपालिका-७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको सोमबार बिहान पहिचान भएको छ । गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर-२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गरेका थिए । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु थिए । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका-४ का १७ वर्षीय राहुम मियाको भएको उनका बुवा इस्लम मियाले पहिचान गरेका छन् । मिया गणपति डिलक्समा काठमाडौंबाट गौर जाँदै थिए ।
पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस-४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ ।
हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।
सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँँच्न सफल भएका थिए ।
file photo: rss
प्रतिक्रिया