
मिक्सो भनेर चिनिने हर्कबहादुर नेम्बाङ नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हुनुहुन्छ । पाँचथरको लुङरुपामा जन्मिनुभएका उहाँ २०५२ सालदेखि राजनीतिमा प्रवेश गर्नुभयो । पाँचथरकै नाङ्गिनबाट एसएलसी उत्तीर्ण गरेपछि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्नुभएका मिक्सोले कक्षा ९ मा पढ्दा नै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । मिक्सो २०५७ मा माओवादी पार्टी प्रवेश गर्दै माओवादीको ‘जनमुक्ति सेना’मा खटिनुभयो । ०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमणका क्रममा घाइते भएर १ वर्ष उपचारमा रहनुभयो र, २०६० सालपछि पाँचथर माओवादी केन्द्रको सचिव, इन्चार्ज र हाल प्रदेश अध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो । उहाँसँग ghatanarabichar.com का लागि प्रमुख संवाददाता सुरेन्द्र सुवेदीले गरेको कुराकानीको सम्पादित अंश ।
० कोशी प्रदेशमा माओवादी केन्द्रको संगठन कस्तो छ ?
- कोशी प्रदेशमा रहेका १४ जिल्लामा पार्टीका १ लाख सदस्य रहेका छन् । समग्रमा पार्टी संगठन सन्तोषजनक नै छ । विगतभन्दा अहिले पार्टी, जनसंगठन र मोर्चा राम्रो छ । विगतको तुलनामा राम्रो जनमत सिर्जना गरेका छौँ ।
० प्रदेशमा पार्टीलाई थप सशक्त बनाउने के गर्दै हुनुहुन्छ त ?
- कोशी प्रदेशमा हाम्रो प्रतिस्पर्धा नेकपा एमाले र नेपाली काङ्ग्रेससितै हो । उनीहरूलाई क्रस गर्नैपर्छ । माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउनु नै छ । अनि, चुनौति पनि छन् । विगतमा कोशी प्रदेशको भूगोलमा अधिकांश क्षेत्रमा चुनाव जितेकै हो । चुनौतिको सामना गर्दै जनताको निरन्तर सेवा गर्ने र जनतामा माओवादी केन्द्रले स्थापित गरेका कुरा पुऱ्याउने हो ।
० संगठन विस्तारका लागि के गर्ने ?
- जनतालाई कन्भिन्स गर्ने, संगठन विस्तारलाई अझ घनिभूत बनाउने, सामाजिक, उत्पीडित, लैङ्गिक समस्यामा परेका परिवारलाई सहयोग गर्ने कार्य भइरहेका छन् ।
० भावी योजना के हुन् ?
- अब यो देशमा समाजवाद हासिल गर्न केन्द्रीत गर्नका लागि सामन्तवादका अवशेषहरूलाई पूर्णरुपमा अन्त्य नगरेसम्म त्यो प्राप्त गर्न सकिन्न । जनताका आधारभूत मुद्धामा जनमत सिर्जना गर्ने अभियानमार्फत अगाडि बढ्न खोजिरहेका छौँ ।
० प्रचण्ड नेतृत्वको सरकार ढल्यो, आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार ढल्दा कस्तो लागिरहेको छ ?
- सरकार बन्नु र ढल्नु खास नयाँ कुरा त होइन, तथापि आफ्नो पार्टीको नेतृत्वमा सरकार रहोस् भन्ने चाहना त हरेक राजनीतिक कार्यकर्तालाई हुन्छ नै । यतिबेला मलाई मनमा खट्किएको कुराचाहिँ के भने नयाँ बन्ने सरकार धारा ७६ को उपधारा ३ अनुसार बन्नुपर्ने थियो, त त्यो भएन । अवैधानिक तवरबाट सरकार गठन भयो भन्ने लाग्छ । यस मामलामा सर्वाेच्च अदालतमा मुद्धा पनि परेको छ, हेरौँ अब अदालतले के गर्छ ।
प्रतिक्रिया