चोरिएका तथा हराएका २१ वटा मोटरसाइकल (दुईपाङग्रे सवारी साधन) खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कपन, रामहिटी गौशाला, नयाँबसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानिवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
सम्बन्धित सवारीधनीलाई बुझाइएका २१ वटासहित ४ सय १७ वटा सवारी साधन गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
गत आर्थिक वर्षमा चोरीका ३२ वटा दुईपाङ्ग्रे सवारी साधनसहित संलग्न ४१ जनालाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
प्रतिक्रिया