केपी ओलीको ‘छलाङ’ !

केपी ओलीको ‘छलाङ’ !


नेपालको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘छलाङ’ मारेका छन् । हालको नेकपा (माओवादी केन्द्र)ले जनयुद्धको १०वर्षे कालमा यो ‘छलाङ’ शब्द प्रचलनमा ल्याएको थियो । अहिले सोही शब्दको अर्थ खुल्ने गरी एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रको नेतृत्वलाई नै जिल्ल्याउँदै ‘छलाङ’ मारेका हुन् ।

केपी शर्मा ओलीको अघिल्लो प्रधानमन्त्रित्व कालमा दुई–दुई पटक गरिएको संसद् विघटनको मुद्दाले उनको साख केही गिरेको थियो । संविधानमाथि नै आक्रमण गरेको भनेर नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एससमेत प्रायः सबै दल एमालेविरुद्ध खनिएका थिए । त्यसमा सर्वाेच्च अदालतले साथ दिएपछि एमालेको सरकार ढलेर काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा ‘परमादेसी’ सरकार बन्दा एमाले नेपालको राजनीतिमा ‘एक्लिएको’ विगत सबैका मानस्पटलमा ताजै छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न कहिले नेपाली काङ्ग्रेस त कहिले नेकपा एमालेलाई प्रयोग गर्दै आए । त्यसबाट आजित भएका काङ्ग्रेस र एमाले नेतृत्वले प्रधानमन्त्री प्रचण्डलाई गुमराहमा राखेर गत असार १७ गते गोप्य सहमति गरे र, त्यसको प्रतिफलका रूपमा अहिले काङ्ग्रेस, एमाले र केही साना दल मिलेर २२ सदस्यीय नयाँ मन्त्रिपरिषद् नै बनिसकेको छ ।

प्रतिनिधिसभामा मौजुदा २ सय ७५ संसद सदस्यमध्ये माओवादीसित केवल ३२ सांसद छन् । काङ्ग्रेससित ८८ र एमालेसित ७९ सदस्य रहँदा पहिलो र दोस्रो ठूलो दल भएर पनि तेस्रो दलले करिव १९ महिना सरकारको नेतृत्व ग¥यो । आफ्नो दलसित संसदमा जादुमय संख्या रहेको र संसदको बाँकी समय करिव साढे ३ वर्ष आफू नै प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिँदै हिँडे । त्यसको प्रत्युत्तरस्वरुप केपी ओलीले प्रचण्डलाई सुइँको पनि नदिइ सरकारबाट हटाउन सफल भए । जसको कारण अहिले प्रचण्ड र माधव नेपाल केपी ओलीसित पराजित भएको तथ्य जगजाहेरै छ ।

पाँच दल एकातर्फ रहेर गत २०७९ को संघीय संसद् निर्वाचनमा होमिँदा केपीको पार्टी एमाले एक्लो थियो । र, पनि उसले समानुपातिकमा पहिलो मत र संसदमा दोस्रो ठूलो पार्टी बन्न सक्यो । यसरी सबैतिरबाट घेराबन्दीमा परेका ओलीले अहिले राजनीतिमा जसरी ‘छलाङ’ मारे त्यसलाई जीवन्त राख्न उनले केही सुधारका काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

नेकपा एमालेको अध्यक्ष बनेपछि र यसअघिको कार्यकालमा ओली प्रधानमन्त्री बन्दा उनले गरेका केही राम्रा काम नेपाली जनताले बिर्सिएका छैनन् । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीका अनुसार ओलीले १३ भन्दा बढी जातीय राज्य बनाउने घातक प्रयास केपीकै अडानका कारण असफल भएर ७ वटा गैरजातीय प्रदेशहरूमा सीमित भएको थियो ।

यस्तै, प्रदेशको नामाकरण जातीय पहिचानका आधारमा हुन नदिने केपी ओलीकै प्रयासका कारण प्रदेशका नामहरू सर्वस्वीकार्य बनाउन सफल भएको, नेपाली राष्ट्रिय सेनालाई सात प्रदेशका आधारमा कमाण्ड खडा गरिएकोमा त्यसलाई खारेज गरि कोशी, उपत्यका, गण्डकी र कर्णाली कमाण्डको अवधारणामा ल्याएको र, भारत भ्रमणका क्रममा तयार भएको परम्परागत संयुक्त वक्तब्य अस्वीकार गर्दै नेपाली राष्ट्रियता र सार्र्वभौमिक सर्वोच्चताका पक्षमा अडान राखेको विगत पत्रकार त्रिपाठी स्मरण गर्छन् ।

ओलीले गरेका राम्रा काममा नेपाली भूभागलाई समेटी पूर्ण नेपाली भूभागको नक्सा जारी हुनु, नाकाबन्दी र त्यस यताका कैयन घटनामा नेपालीत्वका पक्षमा बारम्बार चट्टानी अडान राख्नु, एनजिओ र आइएनजिओको अनियन्त्रित क्रियाकलापमाथि लगाम लाग्ने गरि नीतिगत ब्यवस्था गर्नु, देशको नाममा जोडिएको अनावश्यक विशेषण (सङ्घीय लोकतान्त्रिक गणतन्त्र) हटाइ ‘नेपाल’ मात्र लेख्ने निर्णय गर्नुलाई नेपाली जनताले राम्रा कामको सूचीमा राखेका छन् ।

अब शक्तिशाली प्रधानमन्त्री बनेका (करिव दुई तिहाई बहुमतसहितको) एमाले अध्यक्ष ओलीले गर्नुपर्ने काममा संविधान संशोधन गरेर प्रादेशिक संरचना खारेज गर्ने र दुई तहको मात्र सरकार रहने ब्यवस्था गर्नुपर्ने छ भने जातीय आधारमा गरिएको समानुपातिक प्रणाली र आरक्षण ब्यवस्था खारेज गरेर पिछडिएको समुदायलाई माथि उठाउने वैैकल्पिक ब्यवस्था गर्नैपर्छ । यस्तै, धर्मनिरपेक्षता खारेज गरेर सनातन धर्ममैत्री संवैधानिक र कानूनी ब्यवस्था, धर्मान्तरणका विरूद्ध कठोर कानून ल्याउने, भ्रष्टाचारविरूद्ध मृत्युदण्डसम्मको कानून निर्माण गर्दै भ्रष्टाचार न्यूनिकरणमा योगदान दिने, सवारी साधनमा इम्बोस्ड नम्बर लगाउने निर्णय खारेज गरेर मौलिक नेपाली नम्बर राख्ने ब्यवस्था पुनःस्थापित गर्नुपर्ने नेपाली जनताको माग छ ।

प्रम ओलीले नेपालीको हातमा अर्थतन्त्र ल्याउन विभिन्न नीतिगत ब्यवस्था गर्दै त्यसनिम्ति एउटा कम्पनी, घराना या परिवारले उद्योग, बैंक र बीमामध्ये एउटा मात्र ब्यवसाय गर्न पाउने, पूँजी पलायनलाई नियन्त्रण गर्न विशेष कानूनी र नीतिगत ब्यवस्था गर्नुपर्ने छ । परराष्ट्र मामलामा चीन र भारतसँगको सम्बन्ध सुधार गरी भारतसँग सीमासन्धी गर्नुपर्ने छ । नेपाली जनताले चाहेका यी र यस्तै काम गरे भने केपी शर्मा ओली देशकै राजनेताका रुपमा चिनिने छन् । अन्यथा उनी जसरी यसअघि एक्लिएका थिए पुनः त्यसरी नै नेपालको राजनीतिमा कलङ्कको टीका लाएर बिदा हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।