रथी अशोकराज सिक्देल : सेनापति हुन कानुनीरूपमा कसैले रोक्न नसक्ने

रथी अशोकराज सिक्देल : सेनापति हुन कानुनीरूपमा कसैले रोक्न नसक्ने


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

भावी प्रधानसेनापतिका रूपमा चर्चित रथी अशोकराज सिक्देललाई प्रधानसेनापति बन्न कानुनीआधारमा कसैले रोक्न नसक्ने देखिएको छ । उनी सेनापति बन्ने भएपछि पूर्व सैनिक र हाल बहालवाला सैनिकले नै दोहोरो नागरिकता लिएको भन्दै मिडियाबाजी गर्दै आएका छन् ।

हालका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल आगामी भदौं २४ गते सकिँदैछ । उनको कार्यकाल सकिन लाग्दा बरियतामा अगाडि रहेका रथी सिक्देललाई प्रधानसेनपछि हुन नदिन विभिन्न चलखेल भइरहेका छन् । रथी सिक्देलको जन्म २०२३ माघ १९ गते भएको उनको नागरिकतामा उल्लेख छ । उनले २०४० साउन २९ गते रुपन्देही जिल्लाबाट लिएको नागरिकतामा उमेर १७ वर्ष उल्लेख छ ।

त्यसपछि २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासन कार्यालयबाट उनले पहिलो प्रतिलिपि लिएका छन् । त्यसमा पहिले लिएको नागरिकताको नम्बर पहिलेको नै भएको र जन्म मिति पनि त्यही रहेकोले उनले दोहोरो नागरिकता नलिएको पुष्टि हुन्छ । यस्तै उनले २०४० भदौं २९ गते परीक्षा नियन्त्रकको कार्यालयबाट एसएलसी उतीर्ण गरेको प्रमाणपत्रमा पनि जन्म मिति ०२३ माघ १९ गते नै रहेको छ । यी सबै प्रमाणले उनले दोहोरो नागरिकता लिएको देखिन्न ।

नेपाल सरकारले २०८० मंसिरमा उनका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको छानविन गरेर नै रथीमा बढुवा गरेकोले उनी अब सेनापति बन्नलाई अवरोध नभएको सैनिकका एक उच्च अधिकारीले घटना र विचारलाई बताए ।

सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी पनि रथी सिक्देलको नागरिकता दोहोरो नभएर पहिलो प्रतिलिपिमात्र लिएको छानविनपछि पुष्ठि भएको भन्दै केही मिडियाले गलत प्रचारबाजी गरेको बताउँछन् ।

सैनिक मुख्यालयमा सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार (आज) गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधिएका प्रश्नको उत्तर दिँदै प्रवक्ता सहायक रथी केसीले भने, ‘नेपाली सेनाविरुद्ध गलत प्रचारवाजी गर्नेलाई सैनिक ऐनअनुसार कारवाहीको दायरामा ल्याइने छ, यसका लागि नेपाली सेना प्रतिवद्ध छ ।’