६७४ महिला नेपाली सैनिक शान्तिसेनामा : शान्तिसेनामा खटिएका कूल महिला सैनिक २७०७ जना

६७४ महिला नेपाली सैनिक शान्तिसेनामा : शान्तिसेनामा खटिएका कूल महिला सैनिक २७०७ जना


  • सुरेन्द्र सुवेदी, काठमाडौं

विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघको आह्वानमा विश्वका युद्धग्रस्त देश पुग्ने नेपाली महिला सैनिकको संख्या २ हजार ७ सय ७ जना पुगेको छ । हाल विश्वका विभिन्न ११ देशमा ६ सय ७४ महिला सैनिक शान्तिसेनामा खटिएका छन् । शान्तिसेनामा महिला सैनिकको योगदानमा संख्यात्मक हिसाबले नेपाल पहिलो स्थानमा रहेको छ । अर्थात शान्ति स्थापनार्थ सैनिक खटाएका देशमा सबैभन्दा धेर नेपाली महिला सैनिकको रहेको हो ।

सैनिक मुख्यालयका अनुसार शान्ति स्थापनार्थ विश्वका ११ देशमा नेपाली सेना खटिएको सङ्ख्या ५ हजार ९ सय १६ रहेको छ । संयुक्त राष्ट्र संघमा शान्ति स्थापनार्थ खटिने अन्य देशका तुलनामा नेपाली सेनाको संख्या सबभन्दा बढी रहेको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले घटना र विचारलाई बताए । हालसम्म शान्ति स्थापनार्थ खटिँदा ७३ जना सैनिकको मृत्यु भइसकेको छ भने ६८ जना घाइते भएका छन् ।

२०१२ मंसिर २९ गते नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिएको हो । २०१५ जेठ ३० गतेबाट नेपाली सैनिक शान्ति स्थापनार्थ खटिन थालेका हुन् । पहिलो मिसन लेबनानस्थित युनाइटेड नेसन्स अब्जर्भर ग्रुप इन लेबनानमा ५ जना नेपाली सैनिक खटिएको विगत छ । २०३१ मा संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाको पहिलो युनिट पुरानो गोरख गण इजिप्टमा खटिएको थियो ।

२०६५ मा शान्ति स्थापनार्थ नेपालको सहभागिताको स्वर्ण जयन्ती नेपाली सेनाले मनाएको थियो । शान्ति स्थापनाका लागि नेपाली सेनाबाट हालसम्म ४४ वटा मिसनमा १ लाख ५२ हजार ८ सय १८ जना सैनिक खटिसकेको सैनिक प्रवक्ता सहायक रथी केसीले जानकारी दिए ।