(गुरुपूर्णिमा विशेष)
✍ आचार्य सन्तोष भारद्वाज
ज्ञानभूमि, तपोभूमि, शान्तिभूमि, योगभूमि मात्रै होइन विश्वको एक मात्र गुरु देश नेपाल हो । विश्वलाई अध्यात्मको सन्देश दिने देश हो नेपाल । पूर्वीय दर्शन विज्ञानको भण्डार हो, सर्वश्रेष्ठ ज्ञानको मुहान हो, विश्वलाई एक सूत्रमा बाँध्ने डोरी हो, अध्यात्मको स्रोत हो, विश्वलाई ज्ञानको प्रकाशले प्रकाशित गर्ने एकमात्र ज्योति हो ।
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।
गुरू नै ब्रह्मा, विष्णु र शङ्कर हुन् । गुरु साक्षात् परब्रह्म हुन् । यस्ता गुरुदेवलाई नमस्कार गर्दछु ।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः ।।
खण्डरहित जो अखण्ड छ, सकल ब्रह्माण्डको ज्ञाता छ, सम्पूर्ण चराचर जगतमा व्याप्त छ, जसले भगवानलाई तत्त्वरूपमा आफूभित्र अनुभव गरी एकाकार भावमा रहेका सद्गुरुदेवलाई नमस्कार गर्दछु ।
पौराणिक मान्यताअनुसार वेदव्यासको जन्मदिवसलाई गुरुपूर्णिमा भनेर मनाइन्छ । योगभूमि नेपाल पौराणिक मान्यताअनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाएर प्रथम गुरु बन्नुभएको विश्वास छ । बौद्ध मतअनुसार शान्तिका दूत मानिने गौतम बुद्धले पनि आजकै दिन सारनाथमा आफ्ना शिष्यलाई उपदेश दिनुभएको थियो भन्ने मान्यता छ । जैन मतमा पनि महावीरले यही दिन पहिलो उपदेश शिष्यहरूलाई दिएर गुरु बन्नुभएको विश्वास गरिन्छ ।
हाम्रो संस्कृत र संस्कारमा परमात्मापछिको सर्वोच्च स्थान गुरुको रहेको छ । गुरुबिना परमात्मासँग साक्षात्कार गर्न सकिँदैन । गुरु र ईश्वरलाई समकक्ष मानिन्छ । अज्ञानतारुपी अन्धकारको सीमाबाट मुक्त गरेर जीवनमा ज्ञानरूपी प्रकाशको दीप बाल्ने गुरु एक ज्योति हो । पहिलो गुरु जन्मदाता मातापिता हुन् । मातापिताबाट प्राप्त ज्ञान जीवनका हरेक क्षेत्रमा रामवाणको काम गर्दछ । मातापितापछि बिना कुनै भेदभाव र निःस्वार्थ भावद्वारा हामीलाई ज्ञान दिने, सत्मार्गमा हिँड्न प्रेरणा दिने, सकारात्क विचार प्रदान गुरुबाट मात्रै पाइन्छ । पौराणिक कालमा मात्रै होइन आजको युगसम्म आइपुग्दा पनि गुरुको महिमा उत्तिकै छ । गुरु बिनाको जिन्दगी कल्पनासमेत गर्न सकिन्न । गुरुबिनाको जीवन र लक्ष्यहीन जीवन उस्तै हो ।
ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिं
द्वन्द्वातीतं गगनसदृशं तत्वमस्यादिलक्ष्यम् ।
एकं नित्यं विमलमचलं सर्वधिसाक्षीभूतम्
भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामि ।।
स्वयं आनन्दस्वरूप, सर्वश्रेष्ठ सुखस्वरूप, साक्षात् ज्ञानको विग्रहस्वरूप, सुख-दुःखरूपी द्वन्द्वबाट रहित, आकाश जस्तै व्यापक, अहं ब्रह्माऽस्मि तत्त्व जानिसकेका, एक मात्र नित्यका साधक, सर्वदा शुद्ध स्वरूप, पर्वत जस्तै अचल, सबैको बुद्धिमा अधिष्ठित, सबै प्राणीहरूको साक्षीस्वरूप, आशक्ति रहित, लोभ, मोह, अहंकार तीन गुण देखि रहित छन् । उनै सद्गुरु हुन् । यस्ता सद्गुरुदेवलाई नमस्कार गर्दछु ।
अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः ।।
अज्ञानस्वरूप अन्धकारले अन्धा भएकालाई ज्ञानरूप शलकाद्वारा अन्धकारलाई हटाइ ज्ञानको ज्योतिले प्रकाशित जसले गर्दछन्, उनै सद्गुरु हुन् । यस्ता सद्गुरुदेवलाई नमस्कार गर्दछु ।
प्रणवमन्त्र ओमबाट ब्रह्मज्ञान शिवजीले विष्णुलाई, विष्णुले ब्रह्मालाई, ब्रह्माले सनकादिलाई, सनकादिहरूबाट वशिष्ठ, दक्ष, नारद आदिलाई, नारदबाट व्यासलाई, व्यासबाट सुतजीलाई, सुतजीबाट विभिन्न गुरु शिष्य परम्परा हुँदै आजको समयसम्म आइपुगेको छ । पछिल्लो समय भगवदपाद आदि गुरू शंकराचार्य र उहाँको शिष्यहरू हुँदै विगत २५०० वर्षयता गुरू-शिष्य परम्परा र तिनै शंकराचार्य मठअन्तर्गत नेपाल र भारत जस्ता देशहरूमा वैदिक धर्मको संरक्षण, सम्बर्धन र प्रवर्धन भैरहेको छ । गुरू-शिष्य परम्परा वेदलाई हिँडाउने मार्ग हो । यसै परम्पराले वेदलाई बोकेर हिँडेको छ ।
गुरू-शिष्य परम्पराबिना वैदिक धर्मको कल्पनासम्म गर्न सकिन्न । त्यसैले हाम्रो धर्ममा गुरूको विशेष स्थान छ । यसै हुनाले गुरूलाई भगवानकै कोटिमा राखिएको हुन सक्छ । आफूलाई प्राप्त गुरुशिक्षा एवं सद्ज्ञानबाट व्यासजीले वेदलाई सरलीकृत एवं विभाजन गर्नुभयो । भगवानको स्वरूप व्यासजीलाई वेदव्यास भनिन्छ । मानवजीवनको रूपमा उदय भएका भगवान् श्रीरामका गुरु वशिष्ठ, विश्वामित्र, श्रीकृष्णका गुरु सान्दिपनी, राजा यदुका दत्तात्रेय, भक्त प्रल्हादका नारद, भक्त उद्धवका वृहस्पति एवं श्रीकृष्ण, राजर्षि जनकका नौ बालयोगेश्वर, लक्ष्मणका रामचन्द्र, पार्वतीका श्रीशिव, देवहुतीका कपिलदेव आदि सद्गुरु भएका कुरा धर्मशास्त्रले वर्णन गरेका छन् । भनिन्छ, गुरु देवस्वरूप हुन्, आशिष वा श्राप दुवैको क्षमता गुरुसँग हुन्छ । गुरु परम्परा नै हाम्रो एक चिनारी हो । जीवनमा भएको व्यवधानहरूलाई हटाउन अध्यात्मको मार्गमा रोक्न तगाराहरूलाई हटाउन होस् वा जीवनका हरेक गौंडागौंडामा आइपर्ने समस्या हटाउन गुरुको आवश्यकता महशुस हुन्छ ।
गुशब्दस्त्वन्धकारः स्यात् रुशब्दस्तन्निरोधकः ।
अन्धकारनिरोधित्वात् गुरूशब्दः स उच्यते ।।
गुरु शब्द अर्थात् ‘गु’ शब्दको अर्थ अन्धकार हो भने ‘रु’ शब्दको अर्थ अन्धकारलाई नाश गर्नु हो । जसले आफ्नो प्रज्ञारूपी ज्योतिले अज्ञानरूपी अन्धकारलाई नाश गर्दछन् उही नै गुरु हो । गुरु शब्दमा रहेको ‘गु’ शब्दले सगुण र ‘रु’ शब्दले निर्गुण अवस्था पनि बुझाउँछ । गुरुमा रहेको गकारले सिद्धिदाता, रकारले पापहर्त्ता र उकारले शिव पनि बुझिन्छ ।
गुरुः पिता गुरुर्माता गुरुर्देवो गुरुर्गतिः ।
शिवे रूष्टे गुरुस्त्राता गुरौ रूष्टे न कश्चन ।।
जन्मदाता मातापिता प्रथम शिक्षादाता भएकाले पूजनीय हुन् । गुरु धर्म र अधर्मको ज्ञान दिने भएकाले द्रोस्रो पूजनीय हुन् । माता, पिता, देवता, सद्-गतिरूप सबै गुरु हुन् । भगवान् रिसाउँदा गुरु रक्षक भएर बचाउनुहुन्छ तर गुरु रिसाउँदा भगवानको पनि केही लाग्दैन ।
गुरौ न प्राप्यते यत्तन्नान्यत्राणि हि लभ्यते ।
गुरुप्रसादात् सर्वं तु प्राप्नोत्येव न संशयः ।।
अर्थात्, गुरुको कृपाले व्यक्ति सबै कुरा प्राप्त गर्न सक्दछ । यसमा कुनै संशय छैन । परन्तु गुरुबाट जे प्राप्त हुँदैन त्यो कहीँबाट प्राप्त हुँदैन ।
नमोऽस्तु गुरवे तस्मै इष्टदेव स्वरूपिणे ।
यस्य वाग्मृतम् हन्ति विषं संसार सज्ञकम् ।।
अर्थात्, जसको अमृतमयवाणी अज्ञानतारुपी सांसारिक विषको नष्ट गर्दिन्छ । त्यस्ता महान् इष्टदेव स्वरूप गुरुलाई म बारम्बार नमस्कार गर्दछु ।
किमत्र बहुनोक्तेन शास्त्रकोटी शतेन च ।
दुर्लभा चित्त विश्रान्तिः विना गुरु कृपां परम् ।।
धेरै बोल्दैमा के हुन्छ ? करोडौं शास्त्रको अध्यायले के मिल्छ ? गुरुविनाको ज्ञान र मनमा शान्ति मिल्न अत्यन्त कठिन र दुर्लभ छ ।
प्रेरकः सूचकश्चैव वाचको दर्शकस्तथा ।
शिक्षको बोधकश्चैव षडेते गुरवः स्मृताः ।।
अर्थात्, प्रेरणा दिने, सूचना दिने, सत्यमार्ग निर्देशन गर्ने, असल शिक्षा दिनेलाई गुरु भनिन्छ । यो सबको बोध गराउने गुरु हुन् र सम्माननीय छन् ।
दुग्धेन धेनुः कुसुमेन वल्ली शिलेन भार्या कमलेन तोयम् ।
गुरुं विना भाति न चैव शिष्यः शमेन विद्या नगरी जनेन ।।
अर्थात्, दूधबिनाको गाई, फूलबिनाको लहरा, चरित्रबिनाको पत्नी, कमलबिनाको पोखरी, शान्तिबिनाको विद्या र मानिसबिनाको शहरको कुनै शोभा छैन । त्यसरी नै गुरुबिना शिष्यको शोभा छैन ।
सर्वाभिलाषिणः सर्वेभोजिनः सपरि ग्रहाः ।
अब्रह्मचारिणो मिथ्यापदेशा गुरवो न तु ।।
अभिलाषी, भोगी, संग्रह गर्ने, ब्रह्मचर्यको पालना नगर्ने र झुटा उपदेश दिने गुरु हुँदैनन् । सनातन धर्मअनुसार आमा प्रथम गुरु हुन् । एक असल, चरित्रवान्, कर्तव्यनिष्ठ, करुणाले भरिएको, सहीमार्ग निर्देशन, सफल जीवन बनाउने कला आदि आमाबाट नै आरम्भ हुन्छ । बा जीवनको दोस्रो गुरु हुन् । आफ्ना सन्तानलाई आफ्नो कुल परम्परा, ज्ञान परम्परा, ऋषि परम्परा, कर्तव्य आदिको ज्ञान बा (पिता)बाट प्राप्त हुन्छन् । गुरु व्यक्ति होइन व्यक्तित्त्व हो । गुरु एउटा आदर्श हो । श्रद्धाको राजमार्ग हो । प्रज्ञाको सर्वश्रेष्ठ ज्योति हो । जीवनको अन्तिम लक्ष्यसम्मको सहयात्री हो । अमुर्ततालाई मुर्तता दिने एक मात्र व्यक्तित्व गुरु हो ।
- थाक्रे-७, धादिङ
प्रतिक्रिया