स्वीकृत आवेदन ११ हजार २ सय ८१, ४ हजार ६ सय २९ जनालाई कक्षा ११ मा छात्रवृत्ति
काठमाडौं महानगरपालिकाले कक्षा ११ का लागि दिने छात्रवृत्तिको प्रवेश परीक्षामा ९० प्रतिशत विद्यार्थी सहभागी भएका छन् । परीक्षार्थीमध्ये आचरण पालना नगर्ने दुई जनाको परीक्षा रद्द गरिएको छ । परीक्षाका लागि ३८ वटा केन्द्र तोकिएका थिए । नतिजा आइतबार प्रकाशन गर्ने तयारी गरिएको छ ।
शैक्षिक सत्र २०८१/८२ मा प्राप्त हुने ४ हजार ६ सय २९ वटा छात्रवृत्ति कोटामध्ये ११ हजार ८ सय ७१ जना विद्यार्थीहले आवेदन दिएका थिए । उनीहरुमध्ये ११ हजार २ सय ८१ जनाको आवेदन स्वीकृत भएको थियो । प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलकाअनुसार प्रमाणित भएका आवेदनमध्ये विज्ञान विषयका लागि ८ हजार ४ सय ९७, व्यवस्थापन विषयका लागि २ हजार ५ सय ८१, कानुन विषयका लागि १ सय ५३, मानविकी विषयका लागि १३ र शिक्षा विषयका लागि ३७ जना विद्यार्थीका छन् । छात्रवृत्ति प्राप्त गर्ने योग्यता देखिने कागजपत्र प्राप्त नभएका आवेदन अस्वीकृत भएका हुन् ।
पोखरेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीले प्रवेश परीक्षा प्राप्त गर्दा जुन विधि अपनाएका थिए, त्यही विधिबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । महानगरपालिकाले समग्र योग्यताको सूची पनि प्रकाशन गर्नेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए ।
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।
यो वर्ष सबै भन्दा धेरै अर्थात् २ हजार ४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउने छन् । यस्तै १ हजार ७ सय ५२ जनाले विज्ञान विषयमा, १ सय ७३ जनाले मानविकी विषयमा, १ सय ३६ जनाले कानुन विषयमा र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा पाउनेछन् । विद्यालयमा गएको वर्ष विद्यार्थी भर्नाको अनुपात, भौतिक क्षमतालगायत सूचकका आधारमा यस वर्षका लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।
महानगरपालिका क्षेत्रभित्र ३ सय ९० वटा संस्थागत शिक्षण संस्था सञ्चालनमा छन् । जसमध्ये १ सय ४ वटा विद्यालयमा विज्ञान विषय, १ सय ७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।
प्रतिक्रिया