बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान : मुख्यमन्त्रीमा दाबी पेश गर्दै कांग्रेस

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान : मुख्यमन्त्रीमा दाबी पेश गर्दै कांग्रेस


बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ ।

नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाउनुभएको थियो ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुञ्जेलसम्म उहाँलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्दै कांग्रेस

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले यहाँ मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्ने तयारी गर्नुभएको हो ।

‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ’, लामाले भन्नुभयो, ‘कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।’

नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरू भइसकेकाले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा कांग्रेस नेता लामाले दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।