सैनिक कल्याणकारी कोष : बचत ८२ अर्ब बढी

सैनिक कल्याणकारी कोष : बचत ८२ अर्ब बढी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाली सेनाको कल्याणकारी कोषमा बचत रकम वृद्धिहुनेक्रम यथावत छ । गत आर्थिक वर्ष ०८०/८१ सम्ममा यसको रकम वृद्धि भएर ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

०८० को असार मसान्तसम्म कोषको रकम ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ थियो । ०८१ असार मसान्तसम्ममा ४ अर्ब ८५ करोड २७ लाख रुपैयाँ वृद्धि भएर ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ पुगेको थियो । र, यो समयमा लगानीहरुको ब्याज तथा मुनाफाबाट ६ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ थप भएर ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

सैनिकको यो कोषको मुख्य आय भनेको शान्ति सेनामा गएका सैनिकको पारिश्रमिकबाट लिइने रकम, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने ब्याज र सेनाको स्वास्थ्य विज्ञान संस्थान, विद्यालय तथा महाविद्यालयको शिक्षण शुल्क हो । यसवाहेक परिवार आवासको भाडा, आयमूलक परियोजनाबाट प्राप्त हुने रकम, विदेशी मुद्रा सटही प्रिमियम तथा मेडिकल सेवा उपलब्ध गराउन टिकटबाट प्राप्त हुने रकम यो कोषमा जम्मा हुने गर्दछ ।

कल्याणकारी कोषको जोखिममा रहेको रकम ५ करोड २ लाख ६७ हजार रुपैयाँ रहेको छ । यसअघि यो जोखिम रकम ८५ करोडको हाराहारीमा पुगेको थियो । अहिले घटाएर ५ करोडको हाराहारीमा झारिएको सैनिक प्रवक्ता सहायक रथी केसीले घटना र विचारलाई बताए ।

महालेखा परीक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनअनुसार कोष र कोषअन्तर्गतका निकायको फस्र्याैट हुन बाँकी बेरुजु ८ करोड ४ लाख ३७ हजार रुपैयाँ रहेकोमा ०८१ जेठ मसान्तसम्म ३ करोड २६ लाख ६३ हजार फस्र्याैट गरेर लगत कट्टा गर्न भनिएको छ । अब कूल बेरुजु घटेर ४ करोड ७७ लाख ७४ हजार रुपैयाँमा झरेको र उक्त रकम फस्र्याैटको क्रममा रहेको सैनिक मुख्यालयले जनाएको छ ।