विपद् व्यवस्थापनमा नेपाली सेना : तीन हेलिकोप्टर र एक जहाज ‘स्टेण्डबाइ’

विपद् व्यवस्थापनमा नेपाली सेना : तीन हेलिकोप्टर र एक जहाज ‘स्टेण्डबाइ’


  • सुरेन्द्र सुवेदी, काठमाडौं

नेपाली सेनाले विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनदेखि आवश्यक हवाई साधन तैनाथी अवस्थामा राखेको छ । यो वर्षको मनसुनमा उद्धार, खोज तथा व्यवस्थापनका लागि ७७ वटै जिल्लामा ‘अभ्यास मनसुन’ सञ्चालन गरेर २८ हजार ३५ जनालाई तालिम दिएको छ । १ सय २५ वटा सामुदायिक विपद् प्रतिकार्य तालिम तथा अभ्यासमा ३ हजार ३ सय ९० जनालाई तालिम दिएको छ ।

विपद्मा उद्धार तथा खोजदेखि उपचार र व्यवस्थापन गर्न पोखरा, सुर्खेत र इटहरीमा एक एक वटा हेलिकोप्टर र केन्द्रमा एक हवाई जहाज तैनाथी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

मनसुनजन्य विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन मनसुन केन्द्रीत राष्ट्रिय विपद् प्रतिकार्य योजना-२०८१ अनुसार अत्याधुनिक स्रोत तथा साधन सहित १ हजार १ सय २६ जनालाई विशेष तालिम दिएर देशका २२ स्थानमा तैनाथी अवस्थामा राखिएको सेनाले जनाएको छ । यस्तै आकस्मिक परिचालनका लागि १४ हजार १ सय २६ जना फौज तयारी हालतमा देशका विभिन्न क्षेत्रमा खटिएका छन् ।

पहिरो, बाढी, डुवान, आगलागी र दुर्घटनाहरुमा सेनाले ४ हजार ४ सय ३८ जनालाई खटाएको छ । गत वर्ष सेनाले हेलिकोप्टर र जहाजबाट भरेका उडानमध्ये ८५ प्रतिशत विपद्मा उद्धार, खोज कार्यमा प्रयोग गरेको थियो । अन्य १५ प्रतिशत भने सैनिक कृयाकलापमा उडान भएका थिए । यसरी विपद्मा भएका उडानमध्ये ९० प्रतिशत गैर सैनिकको प्रयोगका लागि भएका थिए भने १० प्रतिशत सैनिक व्यक्तिको उद्धार गरिएको थियो ।

सेनाको मुख्य कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस शोसाइटी, स्काउटदेखि स्थानीय क्लवहरुको समन्वयमा विपद्मा सेनाले काम गर्दै आएको छ । जसका लागि सेनाका सबै युनिटमा सैनिकहरु २४ घण्टा नै तैनाथीअवस्थामा रहेको सैनिक प्रवक्ता सहायक रथी केसीले घटना र विचारलाई बताए ।