लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । शुरुमा एमाले संसदीय दलका नेता लिला गिरीको नाम मुख्यमन्त्रीका लागि तय गरिएपनि एकाएक एमाले उच्च नेतृत्व तहबाट उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने गरी निर्देशन जारी गरिएको थियो ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले आजै नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका चेतनारायण अचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ जेठ २१ गते जन्मिएका हुन् । आचार्य ११ वर्षको उमेरदेखि अनेरास्ववियुमा सङ्गठित भएका थिए । उनका पिता टीकाराम अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै रहेकाले उनी बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध भएका थिए ।
विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका विरुद्ध प्रतिस्पर्धा गरी अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्य एमाले संसदीय दलको उपनेता भएका थिए । उनले यसअघि शहरी विकास तथा खानेपानी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
photo: rss
प्रतिक्रिया