वामयुग अन्त्यको अपरिहार्यता !

वामयुग अन्त्यको अपरिहार्यता !


नदीमा गाग्री लिएर पानी लिन जानु त्यसमा परिवर्तन नखोज्नु यथास्थितिवाद हो, तर यो गलत होइन । आफूलाई आवश्यक पानीमात्र लिएर बाँकी छोडिदिनु प्राकृतिक र मानवीय दृष्टिले उचित हो, तर मान्छेको सुविधालाई आधार बनाइयो भने त्यो बेठीक हो । नदीको पानी घरैसम्म लैजाने सोचचाहिँ भौतिकवादी भएपनि प्रगतिशील मान्नुपर्छ । आफूलाई आवश्यक पानी घरमै पुग्ने ब्यवस्था गर्ने अवधारणालाई बेठीक मानिदैन । नदी या खोलाबाट गाग्रीमा नै पानी लिएर आउनुपर्छ, घरमा धारा बनाएर नदीको पानी ल्याउनुहुन्न भन्ने सोचलाई कसैले परम्परावादी अवधारणा भनिदियो भने त्यतिसम्मलाई अनुचित ठानिदैन । यदि गाग्रीमै पानी ल्याएर पिउनुपर्छ भन्ने छैन, कुलोबाट घरसम्म पानी पुऱ्याएर पिइन्छ भन्ने सोचलाई वामपन्थी, प्रगतिशील या भौतिकवादी या उपभोक्तावादी नै मानियो भने पनि अनुचित नहोला, तर पूरा खोला या नदी नै थुनेर जलको मार्ग सुकाइदिने या आफ्नो निजी उपयोगका निम्ति पूरा खोलै सिध्याइदिने सोचचाहिँ सर्वथा गलत मानिन्छ ! सुविधाजनक हिसाबले पानी पिउने हदसम्म मात्र खोला या नदीको उपयोगलाई प्रगतिशील अवधारणा मानिने हो, आफ्ना निम्ति खोलै सिध्याउने सोचलाई बामपन्थी होइन अतिउग्रबामपन्थी, अतिउपभोगवादी, अतिभौतिकवादी र अतिबिनासकारी सोच मानिन्छ, जुन युगको मध्यान्ह कालमा यतिबेलाको नेपाल रहेको छ ।

सुखको खोजीलाई प्रगतिशील, बामपन्थी या विद्रोही चेत ठान्नेहरू पनि छन्, तर सुखको उत्कर्ष नै दुःखको अन्त्य भने होइन, बरु सुखको उत्कर्ष महादुःखको कारण बनेर हाम्रासामु आइदिन्छ, आउनेक्रमको सुरुवात भइ नै सकेको छ । अर्गानिक जीवनशैलीबाट मूक्ति खोज्दै प्रविधिको साथ लिएर जीवन चलाउने सोचलाई कुनै समय एकदम जायज मानिएको भएपनि कैयन दृष्टिले अर्गानिक जीवन नै ठीक भन्नेहरूको सङ्ख्या पनि अहिले दिनप्रतिदिन बढ्दै गएको छ । पृथ्वी आफै जीवित ग्रह हो, पृथ्वीका हरेक बस्तुमा प्राण र जीवन रहेको छ । जुन बस्तु आकारमा या स्पर्शमा पैदा हुन्छ त्यो एउटा निश्चित समयमा अवश्य मर्नेछ । हो, त्यही मृत्यु र प्रारम्भ बीचको अवस्था नै जीवन हो । त्यसैले पृथ्वी पनि जीवित छ, र एकदिन मर्ने निश्चित छ ।

आफ्नो भौतिक सुख-सुविधाका निम्ति पृथ्वीमाथि निरन्तर प्रहार नभइदिएको भए यसको आयु अलिक लम्बिन सक्ने थियो, केही हज्जार या लाखौँ पुस्तासम्म पृथ्वीमा जीवन रहन सम्भव थियो, तर हाम्रो भौतिकवादी, बामपन्थी-उपभोगवादी लम्पट सोचको शिकार पृथ्वीले हुनुपरेको छ । हरेक जीवजन्तु, प्राणी प्रकृतिको नियमभित्र रहेर बाँच्छन् र मर्छन्, तर मानिसमात्र त्यस्तो प्राणी हो जसमा सर्वकल्याण र सर्वविनास दुवै गर्नसक्ने क्षमता छ । त्यसैले आज संसारमा जति उन्नति-प्रगति भएको मानिन्छ त्यो केवल मान्छेको सुविधा र सुखमा केन्द्रीत र सीमित छ, मान्छेले आफ्नो सुविधाका निम्ति बाँकी जम्मै प्राणी र पृथ्वी स्वयमको जीवनलाई असन्तुलित र सङ्कटपूर्ण बनाइदिएको छ । मानिसमा विद्यमान अतिवामपन्थी, अतिभोगवादी र अतिभौतिकवादी सोच नै सर्वविनासको कारण बन्दै गएको छ ।

मानिसमा बामपन्थी सोचको विकास कहिले र कसरी भयो भन्नका निम्ति सर्वस्वीकार्य दस्ताबेज अहिलेसम्म फेला परेको छैन । सनातनी (पूर्वीय ) सभ्यतामा चार्वाक दर्शनलाई भौतिकवाद र बामपन्थवादको सबैभन्दा पुरानो दस्ताबेज मानिन्छ । हज्जारौं वर्षअघि ऋषि मुनिद्वारा प्रतिपादित उक्त विचार दर्शनको अध्ययन आधुनिक बामपन्थी युगका नाइके कार्ल मार्क्सले पढेका भए उनी अर्कै विचार-संसारमा हुनसक्थे भन्न सकिन्छ । युरोपमा इसाई विद्रोहीहरू मज्दाक र डीगर्सहरूले साम्यवादी अवधारणा मुताविक निजी सम्पत्ति राख्न नपाइने जुन अभियान चलाएका थिए, तिनले पनि चार्वाक लगायतका सनातनी शास्त्रहरूको अध्ययन गर्न पाएका भए तिनले ग्रहण गरेको बामपन्थी विद्रोह पनि पुनर्विचारयोग्य मानिनसक्ने सम्भावना थियो ।

एउटा आम स्वीकार्य विषयको विपरीत ध्रुवमा उभिनुलाई बामपन्थ मान्ने हो भने त्यस्तो प्रवृत्तिको उत्पत्ति मानव सृष्टि भएसँगैै भएको मान्न सकिन्छ र यो समयसापेक्ष हुन्छ । पृथ्वी स्थीर छ र सूर्य मात्र घुम्छ भन्ने आम मान्यता र विश्वास भएका बेला पृथ्वी घुम्छ, सूर्य घुम्दैन भन्ने विचारको सूत्रपात हुनु एक किसिमले प्रगतिशील या वामपन्थी चेतको परिणाम थियो । ग्यालिलियोका निष्कर्षहरू भन्दा यता विज्ञानले अन्य कैयन त्यस्ता तथ्यहरू पत्ता लगाइसकेको छ, जुन सनातन सभ्यताले अनादीकालमै बुझिसकेको थियो । त्यसैले ग्यालिलियो उनको भूगोलको मानिसका निम्ति नयाँ विचारक, वैज्ञानिक या बामपन्थी-प्रगतिशील बनेका हुन् । सनातनी शास्त्रले धेरै पहिले नै सृष्टि र जगतको रहस्य खोलिसकेको थियो । त्यस अर्थमा बामपन्थी–प्रगतिशील विचार पनि समयसापेक्ष हुन्छ भनिएको हो ।

राजनीतिमा बामपन्थी विचार-चेतको प्रारम्भ हुनुअघि यो धर्म र सांस्कृतिक परम्परामा सीमित थियो । दुईहजार वर्ष भन्दा अघिदेखि नै इजिप्टमा एउटा विश्वास र मान्यता थियो, उनीहरू आत्मा र शरीर सँगै रहने र मानिसको मृत्युपछि पनि आत्मा उसँगै (लाससँगै) रहने विश्वास गर्दथे । त्यसैले मरेका मानिसलाई राम्रो बस्त्र पहिऱ्याएर, सुन्दर बाकसमा सुताइ निश्चित स्थानमा लगेर माटो मुनि राख्ने (अर्थात् चिहानमा गाड्ने) र चिहानमाथि पनि सुन्दर संरचना खडा गर्ने गरिन्थ्यो । एक रात परमेश्वर चिहानघारीमा आउनुहुन्छ र सबैलाई जगाएर बाहिर लामबद्ध गराउनुहुन्छ, त्यसरी लामबद्ध गराउँदा धर्मात्माहरूलाई आफ्नो दायाँ हाततर्फ तथा पापीहरूलाई बायाँ हाततर्फ राख्नु हुन्छ र स्वर्ग या नरक यात्रा गराइदिनुहुन्छ भन्ने विश्वास उनीहरूमा थियो । यो नै उतातिर (पश्चिमतिर)को संस्कार, संस्कृति र ऋत बन्न पुग्यो । धेरै पछि फ्रान्सका राजाले संसद् भवनको सभाकक्षमा आफ्नो आसनको बायाँतर्फ अलिक अराजक, नकारात्मक, अनुशासन र मर्यादाको ख्याल नराख्ने, उत्ताउला तथा जुनसुकै विषयमा विमतिमात्र जनाइरहने खालका सदस्यहरूलाई र दायाँ हाततर्फ सकारात्मक मानसिकताका, भद्र, ज्ञानी, अनुशासित, सभ्य र शालिन सदस्यहरूलाई राखेर छलफल गराउने गर्नुहुन्थ्यो । फ्रान्सका राजाले सुरु गरेको यो परम्पराको अनुकरण बेलायतका राजाले पनि गरे । यसरी धार्मिक एवम् सांस्कारिक मान्यतालाई राजनीतिमा प्रवेश गराइएपछि बायाँतर्फको सोच, चेत र चरित्र भएकाहरूलाई बामपन्थी र दायाँतर्फको जस्तो सोच, चरित्र र चेत भएकाहरूलाई दक्षिणपन्थी भन्न थालिएको हो । बामपन्थी सोचको विकास जुन पृष्ठभूमि र परिवेशमा भयो, त्यसमा गौरव महसूस गर्नुपर्ने कुनै कारण र अवस्था देखिँदैन ।

सनातनी सभ्यताले चाहिँ बामपन्थीलाई दानव र दक्षिणपन्थीलाई देवताका रूपमा चित्रण गरेको बुझ्न सकिन्छ । प्रवृत्ति, चेत र चरित्रका आधारमा मानिसको वर्गीकरण गरि एकथरी जो नकारात्मक, अनुशासनहीन, अराजक तथा भोगविलासपूर्ण जीवनशैलीमा मग्न र मस्त छन् तिनलाई दानव र जो कर्तब्यपूर्ण तथा सकारात्मक, अनुशासित र शालिन एवम् मर्यादित जीवन बिताउन चाहन्छन् तिनलाई देवताको कोटिमा राखेको बुझिन्छ । जन्मले नै कोही मानव र कोही दानव बन्ने भएको भए हिरण्यकष्यपु नामक दानवका पुत्र प्रल्हाद पुजित हुने थिएनन् र, ब्राह्मणकै कुलमा जन्मिएर पनि धुन्धुकारीलाई दानवी ठानिने थिएन ।

नेपाल सनातनी सभ्यताको केन्द्रभूमि भएको कुरामा छलफल गर्न सकिन्छ तर शङ्का गर्नु नपर्ला । यहाँ सनातनी सभ्यताले स्थापित गरेका मूल्य, मान्यता र आचरणअनुरुपको जीवनशैलीलाई कायम राखिएको भए आज न देशबाट मानिस र पूँजी पलायनको दुर्दान्त अवस्था ब्यहोर्नुपर्ने थियो, न भ्रष्टाचार, अराजकता र अनुशासनहीनताको उत्कर्षसँग भिड्नुपर्ने अवस्था नै पैदा हुने थियो । सनातनी सभ्यताले भौतिक विज्ञानभन्दा आत्मविज्ञान अर्थात अध्यात्म विज्ञानमा जोड दिने गर्दछ । यसले एक जीवनको मात्र चिन्ता र चिन्तन गर्दैन, अनन्त जीवनका बारेमा आफ्ना धारणा प्रस्तुत गर्दछ । तुलसी, पिपल, दुबो र सबै वनस्पतिको संरक्षण र सूरक्षामा सनातनी सभ्यताले किन जोड दिएको रहेछ भन्ने रहश्य भौतिकतामा रमाउँदै आएका पश्चिमाहरूले समेत अब बुझ्न थालेका छन् । सनातनीहरू सदैव पृथ्वी शान्ति, वनस्पति शान्ति, अन्तरिक्ष शान्ति र समग्रमा प्रकृतिकै शान्तिको कामना किन गर्छन् भन्ने विषयमा पनि उनीहरू जानकार हुँदैछन् ।

बामपन्थी विचारले पुराना मान्यताको विरोध गर्छ, तर सनातनी सभ्यताले स्थापित गरेका मान्यता कहिल्यै पुरानो नहुने प्रकारका छन् र, कहिल्यै अस्वीकार गर्न नमिल्ने प्रकृतिका छन् । बाबुआमा जतिसुकै पुरानो भएपनि त्याज्य नभएजस्तै हो सनातनी मान्यता । जल, वन, आकाश र धर्ति तथा काग र कुकुरसम्मको पुजा गर्न सिकाएर सनातनी सभ्यताले अमूल्य संस्कार र संस्कृति हामीलाई दिएको छ । भौतिक विज्ञान भन्दा महत्वपूर्ण अध्यात्म विज्ञान हुन्छ भनेर हामीलाई सनातनी सभ्यताले प्रमाण दिएको छ, तर जबर्जस्ति लादिएको भौतिकवादी बिस्तारवादले हामीलाई निरपेक्ष बामपन्थी बन्नुमा गौरव गर्ने बनाइदिएको छ । बामपन्थी बनेर गौरव गर्नु र आफू पापी, चोर या बदमास भएकोमा गौरव गर्नु उस्तै हो भन्दा एकथरी मानिसलाई चोट पर्नसक्ला, त्यसनिम्ति क्षमा माग्दै भन्छु- ‘पापी भएकोमा गौरव गर्नु र बामपन्थी बनेकोमा गौरव महसूस गर्नु ठ्याक्कै उस्तै हो !’

नेपाली राजनीति केही दशकयता बाममय भएको छ । कुनैबेला मध्येमार्गी भूमिकामा रहेको नेपाली काङ्ग्रेस पार्टी पनि बाममार्गमा हिँडेपछि देशमा बामपन्थीहरूको पल्ला भारी भएको छ । बामपन्थीहरू भारी भएसँगै भ्रष्टाचार, अन्याय, अराजकता र अनुशासनहीनता बढ्नु संयोग मात्र होइन, यो स्वभाविक नै हुन्छ । देशलाई बामपन्थीमय बनाएर बास्नामय वातावरण खोज्नु भनेको धतुरो रोपेर स्याउ फल्ने आशा राख्नु जस्तै हो ।

संसारको सोच बदलिएको छ, राजनीतिमा कुनैबेला विभिन्न विचार/दर्शनले गन्तव्य निर्धारण गरेको हुन्थ्यो भने पनि अब त्यस्तो युगको अन्त्य भएर राजनीतिलाई मार्गदर्शन गर्ने केवल दुई तत्व ‘राष्ट्रवाद र समृद्धि’ मात्र भएको छ । बाममार्गले सही दिशा र गति दिने थियो भने सोभियत सङ्घको विघटन हुने थिएन, फ्रान्सको क्रान्ति असफल हुनुनपर्ने थियो, चिनले माओ र भियतनामले होची मिन्हको पदचापमै आफूलाई हिँडाइरहेको हुने थियो, अनि उत्तर कोरिया आज संसारकै अनुकरणीय देश बनेको हुन्थ्यो ! तर त्यस्तो भएन, चीनमा देङ सियाओ पिङले स्थापित गरेको राष्ट्रवादी भावनालाई मजबूत बनाउने काम राष्ट्रपति सी चीन पिङले गरिरहेका छन् । त्यहाँ मार्क्स या लेनिनले स्थापित गरेजस्तो साम्यवादी अवधारणाले काम गरिरहेको छैन । रसियाले पनि भ्लादिमिर पुटिनको नेतृत्वमा राष्ट्रवाद र समृद्धिलाई नै लक्ष्य बनाएर काम गरिरहेको छ । भारतमा नरेन्द्र मोदीको नेतृत्वमा जे भइरहेको छ त्यो पनि राष्ट्रवाद र समृद्धिलाई नै मार्गदर्शन सिद्धान्त मानेर भैरहेको छ । साउदी अरेबिया जस्तो मुलुक समेत अब राष्ट्रवाद र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्दैछ ।

अमेरिकामा डोनाल्ड ट्रम्पले तय गरेको मार्ग पनि राष्ट्रवाद र समृद्धिकै हो । युरोपमा भएको चुनावी परिणामले त्यहाँ पनि राष्ट्रवाद र समृद्धिको उभार आइसकेको दर्शाउँछ । दक्षिणपन्थी विचार तथा त्यसमा आधारित मार्गदर्शनले मात्र सभ्यता, संस्कृति, इतिहास, राष्ट्रहित, राष्ट्रियता र राष्ट्रिय समृद्धिका निम्ति प्रेरित गर्दछ । बामपन्थी र अझ साम्यवादी बामपन्थीहरू स्थापित सबै मूल्य-मान्यता र देशको सीमासमेत भत्काएर जाने वैचारिक मान्यता राख्दछन् । आयातीत विचारले देश बनाउछु भन्नु र मागेर भान्सा या भोजनको स्थायी ब्यवस्थापन गर्छु भन्नु उस्तै हो । यदि कुनै मानिस आफूलाई बामपन्थी कम्युनिष्ट विचारको हिमायती दाबी गर्छ भने उ शैद्धान्तिक दृष्टिले कहिल्यै राष्ट्रवादी र देशभक्त हुन सक्दैन । राज्यहरूको विघटन र देशको अस्तित्व नै नामेट तुल्याउने विचारका सम्बाहकहरूले देशभक्त या राष्ट्रवादी दाबी गर्नुलाई हास्यास्पद मान्नुपर्ने हुन्छ ।

यदि नेपाललाई समृद्ध, स्थीर, शान्त र सुसम्पन्न बनाउनु छ भने यसलाई बाममार्गको भुमरीबाट मूक्ति दिलाउन ढिलाई भइसकेको छ । देश बनाउन राष्ट्रवाद र समृद्धिलाई मात्र केन्द्रमा राख्न आवश्यक भएको तथ्यलाई आत्मसात गर्दै तदनुरुप नीतिगत एवम् ब्यवहारगत ब्यवस्था गर्न विलम्ब नगरौँ, जय मातृभूमि ।