बाढीले विद्यालय भवनमा क्षति, सयौँ रोपनी खेतबारी बगरमा परिणत

बाढीले विद्यालय भवनमा क्षति, सयौँ रोपनी खेतबारी बगरमा परिणत


पर्वतको पैयुँ गाउँपालिका-५ स्थित बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालयनजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।

पैंयुँ गाउँपालिका-५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ । खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् ।

यसैबीच, बाढीका कारण पैयुँ-५ को पियाखेतका दर्जनौँ परिवारको घरगोठमा पनि क्षति पुऱ्याएको छ भने सयौँ रोपनी खेतबारी बगरमा परिणत भएको छ । पैंयुँ गाउँपालिका-६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ ।