डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने
सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरू भएको हो ।
अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको जानकारी दिएका छन् । उनका अनुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको र उहाँहरू भोलिसम्म आइपुग्ने अस्पतालका डा. चौधरीको भनाइ छ ।
मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए । ‘आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ’, डा. चौधरीले भने, ‘शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।’
अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उनले जानकारी दिए । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ । फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने उनले बताए । डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने बताइएको छ । शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ ।
बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।
photo: rss
प्रतिक्रिया