स्रोत नखुलेको रकमसहित दुई युवक प्रहरी नियन्त्रणमा

स्रोत नखुलेको रकमसहित दुई युवक प्रहरी नियन्त्रणमा


स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो । काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको प्रहरीले जनाएको छ ।

विदेशी मुद्रासहित पक्राउ

गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो ।

भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको हो ।