कोशी प्रदेश सरकारलाई समर्थन कायम राख्दै माओवादी केन्द्रका मन्त्रीद्वारा राजीनामा

कोशी प्रदेश सरकारलाई समर्थन कायम राख्दै माओवादी केन्द्रका मन्त्रीद्वारा राजीनामा


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट कोशी प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगरले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष संयुक्त रूपमा राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले विकाशित राजनीतिक घटनाक्रममा हाललाई सत्ता समीकरण नरहेको अवस्थामा राजीनामा दिएकोमा धन्यवाद तथा ७५ दिनसम्म सत्तामा रहेर गरेको महत्वपूर्ण सहयोगका लागि आभार व्यक्त गर्दै भनेका छन्, ‘अहिलेको अवस्थामा सत्ता सहकार्यमा अलग भए पनि हामीबीच राजनीतिक क्षेत्रमा सहयोग एवं प्रतिपक्षको रचनात्मक भूमिक हुने विश्वास छ ।’

माओवादी केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको जानकारी दिएका छन् ।

photo: rss