अमेरिकी राष्ट्रपतिमा के ह्यारिस हार्दैछिन् ?

अमेरिकी राष्ट्रपतिमा के ह्यारिस हार्दैछिन् ?


अमेरिकी राष्ट्रपतिको निर्वाचनले भूराजनीति तात्दै गएको छ । चौतर्फी आलोचना र टिप्पणी भएपछि राष्ट्रपति बाइडेन मैदानबाट पछि हटे । उनको डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार हुने पक्का भएपछि देशदौड सुरु गरिएको छ । इतिहासमा अत्यन्त लोकप्रिय बनेर सन् १९३२ देखि सन् १९४८ सम्म लगातार चार पटक डेमोक्रेटिक पार्टीबाट विजयी बनेका फ्रान्किलिन डी रुज्वेल्टले अमेरिकी इतिहास र विश्वमा नाम राखे । सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र सङ्घको स्थापना गर्नमा समेत भूमिका खेले । इतिहासमा विलियम हावर्ड टाफ्टले राष्ट्रपतिबाट अवकास भएपछि अमेरिकी सर्वाेच्च अदालतका प्रधानन्यायाधीश बनेका थिए ।

सन् २००० मा भएको चुनावमा जर्ज डब्लू. बुस र अल गोरले आफ्ना चुनावी विषयहरू वेबसाइटमा राखेका थिए । मतगणनाको क्रममा फ्लोरिडामा विवाद भएको थियो । अदालतमा मुद्दा गएपछि तत्काल न्यायाधीशहरूको लागि उक्त निर्वाचन रद्द गर्ने वा के गर्ने भन्ने अवस्था आएपछि स्वयम् न्यायाधीशहरूले अदालतमा आफैँ आपसमा मतदात गरी ९ जना न्यायाधीशमध्ये ५ जना बुसको पक्षमा र ४ जना गोरको पक्षमा देखिएपछि बुसलाई राष्ट्रपति घोषित गरिएको थियो ।

अमेरिकी निर्वाचनमा मात्र होइन भारत र विश्वका अधिकांश प्रजातान्त्रिक मुलुकहरूमा निर्वाचनपूर्व मतसर्भेक्षण हुने गरेका छन् । हालै भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी एक्लैले तीन सय कटाउने भनी गरिएका अनेकौँ भविष्यवाणीले हावा खाएका थिए । बिजेपीले एक्लै नै दुई सय चालीस सीट जित्यो । अमेरिकामा पनि अनेकौँ मत सर्भेक्षण भएका छन्, हुँदैआएका छन् । अहिले २०२४ नोभेम्बरको निर्वाचनकेन्द्रित गरेर पनि मत सर्भेक्षण हुन थालेका छन् । सर्भेक्षणमा झिनो मतले ट्रम्प अगाडि रहेको देखाइएको छ । यसअघि सन् २०१६ को निर्वाचनमा १० वटा सर्भेक्षणहरूले डेमोक्रेटिक पार्टीबाट हिलारी क्लिन्टनले शानदार तरिकाले चुनाव जित्ने प्रक्षेपण गरिएको भए पनि परिणाम रिपब्लिकन पार्टीका ट्रम्पको पक्षमा गयो । यसकारण मतसर्भेक्षण जहिल्यै जहाँसुकै मिल्छ भन्ने केही रहेन ।

ट्रम्पले कूल ५३८ इलोक्ट्रोरल भोटमध्ये ३०६ मत र क्लिन्टनले २३२ इलोक्ट्रोरल मत ल्याएका थिए । रिपब्लिकन पार्टीले अमेरिकाका ५० राज्यमध्ये ३० भन्दा बढी राज्यमा जितेको थियो । व्यक्तिगत स्वतन्त्रता र अधिकारलाई उच्च सम्मान गर्ने अमेरिकामा महिला लगायतलाई प्रर्याप्त अधिकार भएको भए पनि हिलारीले महिलावादको वकालत गरेको धेरै अमेरिकीलाई मन नपरेको भन्ने बिबिसी लगायतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए ।

अमेरिकामा राज्यका आफ्नै संविधान, कानुन छन् । राष्ट्रपतिलाई भिटो अर्थात् विशेषाधिकार प्राप्त रहेको छ । अमेरिकी कंग्रेसको (संसद्) विधेयक पुनः संसदमा फर्काउन सक्ने अधिकार उनलाई रहेको छ । तथापि कंग्रेसको दुई तिहाईबाट पास भएको विधेयक भने राष्ट्रपतिको सहमति नभए पनि लागु हुन सक्छ । राष्ट्रपतिले सर्वाेच्च अदालतका न्यायाधीशहरूको चयन गर्न सक्ने भए पनि त्यसलाई सिनेटले समर्थन गर्नुपर्ने प्रावधान छ । हाउस अफ रिप्रिजेन्टेटिभ ४ सय ३५ सदस्यीय हुन्छ ।

रिपब्लिकन पार्टी परम्परागत मूल्य-मान्यतमा बस्ने, गोरा, धनी र सेनाका पूर्व अधिकारीहरूको बाहुल्यता भएको पार्टी हो । सन् १८५४ मा गठन भएको रिपब्लिकन पार्टीलाई ग्राण्ड ओल्ड पार्टी (पुरानो) पनि भनिन्छ । सन् १८६० मा नै यसै पार्टीबाट अब्राहम लिङ्कनले राष्ट्रपतिमा विजय हासिल गरेका थिए । डेमोक्रेटिक र रिपब्लिकन पार्टीका केही प्रमुख मतभेदहरू रहँदै आएका छन् । डेमोक्रेटिकले गर्भपतनको अधिकार बिनाशर्त दिनु हुन्न भन्ने मत राखेको छ भने रिपब्लिकनले दिनुपर्दछ भनेको छ । निजी व्यापारिक कम्पनीको भूमिकालाई सीमित गर्नुहुन्न भन्ने रिपब्लिकन हो । डेमोक्रेटिकले सीमित गर्न आवश्यक हुने भनेको छ । प्रगतिशील कर प्रणालीको वकालत डेमोक्रेटिकले गरेको भए पनि रिपब्लिकनले त्यो अस्विकार गर्दै आएको देखिन्छ ।

यस्तै, अध्यागमनमा कडाइ गर्नुपर्ने नारा रिपब्लिकनको भए पनि डेमोक्रेटिक त्यसमा उदार देखिन्छ । विश्वमा अमेरिकी दबदबा र हस्तक्षेपकारी भूमिका हुनुपर्ने कुरामा भने दुवैको एउटै मत रहेको छ । सन् २०२४ को नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्प र ह्यारिसबीच कडा टक्कर हुने देखिन्छ । अमेरिकी राजनीतिक पार्टीको इतिहासमा लगातार दुई दलको शक्तिमात्र देखिन्छ । समय-समयमा अन्य दलको उपस्थिति हुने गरेको भए पनि मूल रूपमा डेमोक्रेटिक र रिपब्लिकन दल नै सत्तामा रहेका देखिन्छन् ।

वर्तमान भूराजनीतिमा सर्वाधिक चासोको विषय सन् २०२४ नोभेम्बरमा हुने निर्वाचन रह्यो । राष्ट्रपति निर्वाचनमा को हार्दैछ ? किन हार्दैछ ? वा को जित्दैछ ? कसरी जित्दैछ ? त्यसले विश्वमा अर्थात भूराजनीतिमा कस्तो असर पार्दछ ? नेपाल र नेपालीलाई के-कस्ता असर पर्न सक्दछन् ? यही सेरोफेरामा बौद्धिक तर्क हुने गरेको देखिन्छ । डेमोक्रेटिकमा टिकट दिने कुरामा पूर्णतः सर्वसम्मती नहुनु, बाइडेनले अहिले पनि पुनः आफैं उठ्ने भनेर चर्काे आलोचना खेप्नु, थोरै समय बाँकी रहँदा चुनावी दौडबाट बाइडेन पछि हट्नु, ट्रम्पको चुनावी प्रचारप्रसार आक्रामक हुनु, ट्रम्पसँग अकुत आर्थिक स्रोत वृद्धि हुँदै जानु, ट्रम्पको निजी हौसला अत्याधिक हुनु (हाइ मोरल), लोकप्रियवादको नारा विश्वमा फैलनु, ट्रम्पले उग्र राष्ट्रवादी नारा लगाउनु र त्यस्तो नारा विश्व राजनीतिमा बढी बिक्नु जस्ता कारणले आवश्यक भन्दा थोरै बढी मतले ट्रम्प विजयी हुने छाँटकाँट देखिएको छ ।

लोकप्रियता, क्षमता, अनुभव, व्यक्तित्व, उमेर आदि कारणले ह्यारिस उत्कृष्ट पात्र भएकोमा कसैमा भ्रम रहेन, तथापि अन्यौलका बीच उम्मेदवारीमा ढिलो गरिनुले ट्रम्पको हौसला बढेको हो । त्यति भए पनि ह्यारिस आएपछि भने ट्रम्पलाई कडा टक्कर हुने देखिएको छ ।

नेपाललाई को हार्दा के हुन्छ, को जित्दा के हुन्छ ? यसमा विश्लेषण गर्दा मूलतः जो आए पनि अमेरिका र अमेरिकीकै फाइदा हेर्ने हो । तथापि आप्रवासी र विदेश-सहयोगमा ट्रम्प बढी कडा र निर्मम देखिएका छन् । ह्यारिसले चुनाव हार्दा नेपाल र नेपालीलाई चाहिँ उत्साहजनक नहुने देखिएको छ । नेपालमा युएसएड, एमसीसी लगायतका अनेकौँ अमेरिकी सहयोगका आयोजना लागु हुँदै आएकोमा त्यसमा तात्विक असर भने नपरे पनि विदेश होइन ‘अमेरिका फस्ट’ भन्ने अमेरिकी र ट्रम्पको नीतिले सामान्य असर पार्ने देखिन्छ ।

अमेरिकी राष्ट्रपतीय इतिहासमा अब्राहाम लिङ्कनसहित बाराक ओवामासम्म १६ जना वकिल (कानुन) क्षेत्रबाट राष्ट्रपति भइसकेका छन् । २०२४ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस समेत कानुनबाट रहेकी छिन् । १६ जना राष्ट्रपति अमेरिकी कुनै न कुनै राज्यका पूर्वनिर्वाचित गर्भनर रहेका थिए । सबैभन्दा धेरै अर्थात् २२ जना सेनाबाट अवकास भएका अधिकारी रहेका थिए । ८ जना सरकारका पूर्व सचिव र ६ जना सेक्रेटरी अफ द स्टेट रहेका थिए । सबै अमेरिकी निर्वाचनमा अर्थतन्त्र सुधार, कर, सामाजिक न्याय, आप्रवासी समस्या, सुरक्षा, विदेश नीति, बन्दुक राख्न दिने वा नदिने, गर्वपतन गर्न दिने वा नदिने र रोजगारी वृद्धि गरिने आदि मुद्दा सर्वाधिक चर्चामा रहे ।

चुनावी नारालाई पनि अमेरिकामा चासोका साथ हेरिने गरिएको छ । सन् १९९८ मा जर्ज डब्लू. बुसको मुख्य चुनावी नारा ‘रिड माई लिप्स : नो न्यू ट्याक्सेस’ रहेको थियो । अर्थात् नयाँ कर नलाउने भन्ने रह्यो । सन् २०१२ मा राष्ट्रपति वाराक आवामाको मूख्य नारा ‘एस् वी क्यान’ थियो । सन् २०१६ मा डेमोक्रेटिकबाट उठेकी प्रथम महिला उम्मेदवार हिलारी क्लीन्टनको मूल नारा ‘स्ट्रोङ्गर टुगेदर’ रह्यो । रिपब्लिकन उम्मेदवार डोनाल्ड टम्पको नारा ‘मेक अमेरिका ग्रेट अगेन’ रहेको थियो । उनी राष्ट्रपतिमा विजयी भए । ट्रम्पको अहिले २०२४ को चुनावी नारा पनि उही मेक अमेरिका ग्रेट अगेन नै रहेको देखिन्छ । उनले उनका चुनावी भाषणमा त्यही नारामा ‘फोकस’ गर्दै आएका छन् ।

यही वर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचन ६०औँ र व्यक्ति राष्ट्रपतिचाहिँ ४७औँ हो । जनवरीको सुरुमा चुनावी नतिजा आउँछ । जनवरी २० मा औपचारिक रूपमा नयाँ राष्ट्रपतिको चयन हुन्छ । संविधानले राष्ट्रपतिलाई सेनाको सर्वाेच्च पदमा र देशको प्रमुख कार्यकारीमा राखेको छ । ‘लाइफ’, ‘लिवर्टी’ र ‘प्रपर्टी’को अधिकारलाई उच्च स्थानमा राखिने अमेरिकी निर्वाचनले विश्वको ध्यान खिचेको छ, खिच्दैछ ।

यसअघि राष्ट्रपति बाइडेन नै फेरि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार हुने भन्दै एक चरण चुनावी दौड र पहिलो बहस (डिबेट) भएको थियो । तथापि अमेरिकी जनता, बाइडेनको पार्टीका नेता र विश्वबाटै बाइडेनको स्वास्थ्य समस्या, स्मरण शक्ति आदिबाट आलोचना र निरन्तर टिप्पणी भइरहे । सोही कारण उनी चुनावी दौडबाट पछि हटे । उनले उपराष्ट्रपति कमला ह्यारिसलाई अघिसारेपछि उनको चुनावी दौड तीव्र हुन थालेको छ । अहिलेको चुनावी दौड हेर्दा ह्यारिसले ट्रम्पलाई सीधा टक्कर दिने अवस्था देखिएको छ, तथापि थोरै मत अन्तरमा अन्तमा ट्रम्प नै विजयी बन्ने कुरा माथि उल्लिखित कारणहरू, अवस्था, परिस्थिति र विश्वमा आएको उग्रवादी लोकप्रियतावादी हावाको कारण कमला हार्ने आँकलन गर्न सकिन्छ ।