सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील तुल्याउन नयाँ नीति एक वर्षभित्रै : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील तुल्याउन नयाँ नीति एक वर्षभित्रै : सञ्चारमन्त्री गुरुङ


सूचना तथ सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानुन र नीति खारेज गरेर नयाँ नीति बनाउनुपर्ने बेला आएको बताएका छन् । शुक्रबार (११ साउन) क्यान महासंघले आयोजना गरेको बीटुबी समिट २०२४ मा बोल्दै उनले प्रविधि क्षेत्रमा रहेका सबै पुराना नीति खारेज गरेर नयाँ नीति एक वर्षभित्रै बनाउने बताए ।

मन्त्री गुरूङले भने,’सञ्चार तथा प्रविधि क्षेत्रमा पञ्चायतदेखिकै ऐन कानुन र नीतिले अहिलेसम्म शासन गरिरहेको, तर देशमा ठुल्ठुला परिवर्तनहरू भइसके पनि नीति र कानुनहरु परिवर्तन भएका छैनन्, अब म त्यो ऐन कानुन र नीति नयाँ बनाउनेतर्फ लाग्छु।’ उनले ब्रोडकास्टिङ ऐन र नीति अहिले पनि पञ्चायनकालकै रहेको भन्दै यसमा नयाँ जनादेश अनुसार बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले सूचना प्रविधि नीति तथा विधेयक बनाउन खुलेर सुझावन दिन सबैसँग आग्रह गरे ।

यस्तै क्यान महासंघका अध्‍यक्ष रन्जित पोद्दारले सरकारले ल्‍यापटप, नोटप्याडमा लगाएको ५ प्रतिशतको अन्तःशुल्कबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सरकार डिजिटल नेपालको कुरा गरिरहेको छ। तर विद्यार्थी र देशका सबै स्कुलमा अत्यावश्यक स्मार्टबोर्ड, ल्यापटप र नोटप्याडमा ५ प्रतिशत अन्तःशुल्क लगाएको छ, यसले त झन् चोरी बढाउने देखिन्छ । त्यसकारण यसबारेमा सरकारले पुनर्विचार गरी हटाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्न सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर स्टार्टअप कोष बनाउनुपर्ने धारणा राखे । उनले यसका लागि एफएनसीसीआई १० अर्बको पब्लिक लिमिटेड बनाउन तयार रहेको बताए । सरकारले साथ दिए युवाहरूले सुरू गरेको नयाँ स्टार्टअपलाई सहयोग गर्न एफएनसीसीआई सक्षम हने उनले बताए ।

क्यान महासंघका महासचिव चिरन्जीवी अधिकारीले सूचना प्रविधिको क्षेत्रमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । डिजिटल नेपाल बनाउन प्रविधिमैत्री कानुन, डिजिटल साक्षरता, फिनटेकको सुदृढीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, क्यान महासंघका संस्थापक अध्यक्ष विमल कुमार शर्माले सरकारले सूचना प्रविधि बुझ्‍ने उच्च स्तरीय आयोग बनाउनुपर्ने सुझाव दिए भने चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले प्रविधिको गुणस्तरीयतामाथि नै प्रश्‍न उठेको र आम उपभोक्ताले समस्या ब्यहोरिरहेको बताए

सेन्जेन होरियन इन्टेलिजेन्स टेक्नोलोजीका निर्देशक काल्भिन लिऊले प्रविधिले विश्वव्यापी रुपमा सबैलाई जोडेको तर्क गरे । उनले नेपालमा प्रविधिको विकासमा डिजिटल क्लासरूमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्‍यक्त गरे ।