राष्ट्रिय स्वतन्त्र पार्टीबाट हटाइएका पूर्व महामन्त्री डा. मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएर आफू नै पार्टीको महामन्त्री भएको दाबी गरेका छन् । रास्वपाको महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै उनले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा. ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए । डा. ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै पनि निर्णय सदर नगर्न आग्रह गर्दै आयोगमा निवेदन दिएका हुन् । अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेको प्रतिक्रिया उनले दिएका छन् ।
‘संविधानको धारा २६९ (४) र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ (२) अनुसार मलाई पार्टीले गरेको कारबाही अवैधानिक छ । कारबाही अवैधानिक भएकाले मेरो हस्ताक्षरबिना पार्टीका निर्णय अद्यावधिक गर्न आए नगर्नु त्यो अवैधानिक छ भनेर निवेदन दिएको छु’, उहाँले भन्नुभयो ।
रास्वपाको केन्द्रीय समितिको बैठकले गत असार २५ गते डा. ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र र पार्टीहितविपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै पदमुक्त गरेको थियो ।


प्रतिक्रिया