आगामी निर्वाचनमा एक्लै विजयी हुने प्रचण्डको अठोट

आगामी निर्वाचनमा एक्लै विजयी हुने प्रचण्डको अठोट


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी निर्वाचन एक्लै लड्ने र विजयी हुने योजनाका साथ छलफल भइरहको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आइतबार (१३ साउन) आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले माओवादी केन्द्रलाई विजयी गराउने विश्वास व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा आगामी चुनावमा एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’

उनले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको र सुशासनका पक्षमा विजय भएर निस्किएको जिकिर गर्दै भने, ‘भ्रष्टाचार र अनियमिततामा संलग्नहरु मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ, यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।’

से अवसरमा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलबाट मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका सो दलले जनाएको छ ।