१० मिटर एयर राइफलमा सुस्मिता ४२औँ स्थानमा

१० मिटर एयर राइफलमा सुस्मिता ४२औँ स्थानमा


नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक २०२४ को महिला १० मिटर एयर राइफलमा ४२औँ स्थान हासिल गरेकी छन् ।

पेरिसदेखि स्थलमार्गबाट करिब तीन घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको प्रतियोगितामा कूल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२औँ स्थानमा रहिन् । शरणार्थी टोलीकी लुना सोलोमन ४३औँ भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् ।

खेलमा सुस्मिताले कूल ६५४ अङ्कमा ६०७.८ अङ्क जोडिन् । सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोस्रोमा १०१.७, तेस्रोमा १००.७, चौथोमा ९९.९, पाँचौँमा १०२.२ र छैटौँमा ९८.२ अङ्क जोडिन् । शीर्ष आठ मा रहने खेलाडीमात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती समाप्त भएको छ ।

यो स्पर्धामा सुस्मिताकै नाममा कूल ६५४ अङ्कमा ६१९.१ अङ्कको राष्ट्रिय कीर्तिमान छ । उक्त कीर्तिमान सुस्मिताले नेपालमै भएको चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा बनाएकी थिइन् ।

दक्षिण कोरियाका हयुजिन बान ६३४.५ अङ्कको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित आठ जना फाइनलमा प्रवेश गरेका छन् । फाइनल पुग्ने अन्य खेलाडीमा नर्वेकी हेग जिनेट, स्वीटजरल्याण्डकी एन्ड्री गोमियट, चीनकी युटिङ हुवाङ, भारतकी रमिता, काजाकिस्तानकी एलेक्जेन्ड्रा ले, अमेरिकाकी सगेन माडालेना र फ्रान्सका ओसिएने मुलर रहेका छन् । फाइनल खेल सोमबार हुनेछ ।