सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्री बर्खास्त


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । मन्त्री थापाले सरकारको नीतिविपरीत काम गरेको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उनलाई बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीयसचिव दीर्घ जोशीले जानकारी दिएका छन् ।

‘प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीतिविपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नु भएको हो’, जोशीको भनाइ छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मागबमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३)अनुसार आह्वान गरिएको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ । अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित भएकी थिइन् । बर्खास्तमा परेकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य हुन् ।

प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बारिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् । उनले संविधानमा भएको व्यवस्थाबमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

file photo