मंगलबार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री लामा

मंगलबार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री लामा


बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले भोलि मंगलबार (साउन १५) प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दत्र्ता गराएका छन् ।

मुख्यमन्त्रीको सचिवालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिन लागेका हुन् ।

‘विश्वासको मतका लागि पत्र दत्र्ता भइसकेको छ, पत्रअनुसार नै साउन १५ गते दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ’- सचिव दर्जीले भनेका छन् ।

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

file photo