- सुरेन्द्र सुुवेदी, काठमाडौं
भावी प्रधानसेनापतिको रूपमा हेरिएका रथी अशोकराज सिग्देलविरुद्ध उभिएका शक्तिहरु पराजित भएका छन् । रथी सिग्देलले दुई वटा नागरिकता लिएको भनेर सर्वाेच्चमा रिट हाल्न खोज्दा सर्वाेच्च अदालतले दरपिठ गरेपछि उनलाई प्रधानसेनापति बन्ने बाटो सहज बनेको छ । अब सरकारले अन्यथा ‘चलखेल’ नगरे आगामी भदौ २४ गते उनी सेनाको प्रधानसेनापति बन्ने निश्चितप्रायः छ ।
प्रधानसेनापति बन्न लागेपछि रथी सिक्देलविरुद्ध सेनाकै पूर्व उच्चाधिकारी र कतिपय बहालवाला अधिकारीहरुसमेत उनले दोहोरो नागरिकता लिएको भन्दै सञ्चारमाध्यममा समाचार लेखाउनेदेखि सर्वाेच्चमा मुद्धा हाल्ने चरणसम्म पुगेका थिए ।
रथी सिक्देलविरुद्ध सिन्धुलीका युवराज सफल नामका व्यक्तिले सर्वाेच्चमा मुद्धा दर्ता गराउन खोज्दा रजिष्ट्रार भद्रकाली पोखरेलले मुद्दा दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेका हुन् । सर्वाेच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ र सर्वोच्च अदालत नियमावली २०७४ को नियम १८ (२) बमोजिम दरपीठ गरेको जनाएको छ ।
नेपाली सेनाले यही साउनको पहिलो साता पत्रकार सम्मेलन गर्दै रथी सिक्देलको नागरिकतामा कुनै कैफियत नदेखिएको जनाएको थियो ।
हालका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल आगामी भदौं २४ गते सकिँदैछ । उनको कार्यकाल सकिन लाग्दा बरियतामा अगाडि रहेका रथी सिक्देललाई प्रधानसेननापति हुन नदिन विभिन्न चलखेल भइरहेका छन् ।
रथी सिक्देलको जन्म २०२३ माघ १९ गते भएको उनको नागरिकतामा उल्लेख छ । उनले २०४० साउन २९ गते रुपन्देही जिल्लाबाट लिएको नागरिकतामा उमेर १७ वर्ष उल्लेख छ । त्यसपछि २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासन कार्यालयबाट उनले पहिलो प्रतिलिपि लिएका छन् । त्यसमा पहिले लिएको नागरिकताको नम्बर पहिलेको नै भएको र, जन्ममिति पनि त्यही रहेकोले उनले दोहोरो नागरिकता नलिएको पुष्टि हुन्छ ।
यस्तै, उनले २०४० भदौं २९ गते परीक्षा नियन्त्रण कार्यालयबाट एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्रमा पनि जन्म मिति ०२३ माघ १९ गते नै रहेको छ । यी सबै प्रमाणले उनले दोहोरो नागरिकता लिएको देखिन्न ।
नेपाल सरकारले २०८० मंसिरमा उनका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको छानविन गरेर नै रथीमा बढुवा गरेकोले उनी अब सेनापति बन्नलाई अवरोध नभएको सैनिक मुख्यालयले जनाइसकेको छ । सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी पनि रथी सिक्देलको नागरिकता दोहोरो नभएर पहिलो प्रतिलिपिमात्र लिएको छानविनपछि पुष्टि भएको भन्दै केही मिडियाले गलत प्रचारबाजी गरेको घटना र विचारलाई बताए ।
प्रतिक्रिया