स्टक ब्रोकर एसोसिएसन, नेपालका पूर्वअध्यक्ष प्रिय रेग्मी भन्छन्- ‘जोखिमभार घटाउने र व्यक्तिगत लगानीकर्ताका लागि लगाइएको १५ करोडको क्याप पनि हटेमा बजारले थप गतिशीलता पाउनेछ ।’
- सुरेन्द्र सुवेदी, काठमाडौं
सेयर बजारप्रति सकारात्मक मौद्रिक नीतिका कारण अब बजार माथि जाने देखिएको छ । देशका दुई ठूला दल नेपाली काङ्ग्रेस, नेकपा एमाले मिलेर सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्व हुने आँकलन र सकारात्मक मौद्रिक नीतिका कारण अब सेयर बजारको ‘इन्डेक्स’ माथि जाने देखिएको स्टक ब्रोकर्स एसोसिएसनको दुई पटक अध्यक्ष भइसक्नुभएका संस्थागत सेयर लगानीकर्ता प्रियराज रेग्मीको बुझाइ छ ।
एसोसिएसनका पूर्वअध्यक्ष तथा क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिजका अध्यक्षसमेत रहनुभएका रेग्मीका अनुसार मौद्रिक नीतिमा कर्जा विस्तार गर्ने तथा बैंकहरुको मुनाफामा सहयोग पुग्ने, सेयर बजारमा पनि संस्थागत लगानीकर्ताका लागि लगाइएको सेयर धितो कर्जामा २० करोडको क्याप खारेज गरिएकोले सेयर बजारमा सकारात्मक प्रभाव पर्न थालेको हो ।
सेयरबजार सूचक ‘इनडेक्स’ एक पटक ३२ सयसम्म पुगेको थियो भने केहीअघि घटेर १८ सयमा झरेको थियो । दुई ठूला दल मिलेर सरकार बनाउनु, सरकारले सेयर बजारलाई सकारात्मक रुपमा हेर्नुदेखि मौद्रिक नीतिमार्फत बैंक दर र नीतिगत दरहरु थप घटाइएकोले अब ब्याजदर अझै तल झर्र्ने आँकलन गर्न थालिएको छ ।
कोरोनाका कारण विश्वको अर्थतन्त्र मन्दीमा जानु, युक्रेन र रुस युद्धसमेतका कारण सेयर बजार तल झरेको अध्यक्ष रेग्मीको बुझाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले सेयर बजारमा पहुने ४१ खर्ब रुपैयाँ लगानीमा छ, अन्य क्षेत्रजस्तै उद्योग धन्दा, जग्गा जमिनमा लगानी गर्ने अवस्था नदेखिँदा लगानीकर्ताहरू सेयर बजारतर्फ नै आकर्षित हुने देखिन्छ, जसले यो बजार माथि जाने विश्वास गर्न सकिन्छ ।’
संस्थागत लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाबाट लिने २० करोड रुपैयाँको सीमा खारेज भएपछि लगानीकर्ताहरू क्षमताअनुसार ऋण लिएर पनि लगानी गर्न पाउने भएका छन् । बैंकहरुको ब्याज घट्दोक्रममा रहनु र लगानीको सीमा पनि हट्नुले बजारलाई प्रोत्साहित गरेको २०६८ सालदेखि क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज सञ्चालन गर्दै आउनुभएका सेक्युरिटिज्का अध्यक्ष रेग्मीको बुझाइ रहेको छ ।
जोखिमभार घटाउने र व्यक्तिगत लगानीकर्ताका लागि लगाइएको १५ करोडको क्याप भने यथावत् छ । यो क्याप पनि हटेमा बजारले थप गतिशीलता पाउने देखिन्छ ।
प्रतिक्रिया