कांग्रेसको गुटगत राजनीतिले कोशीमा मन्त्री छान्न सकस

कांग्रेसको गुटगत राजनीतिले कोशीमा मन्त्री छान्न सकस


नेपाली कांग्रेसभित्र जारी चरम गुटगत राजनीतिको छाया कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको छनोटमा समेत परेको छ । प्रदेशमा मन्त्री बन्न चाहने आकांक्षीहरु धेरै भएपछि मन्त्रीको नाम सिफारिस गर्न सकस परेको छ । नाम छनोटमा धौ-धौ परेपछि काग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ ।

विराटनगरमा मंगलबार (१५ साउन) बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातियता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ ।

कोशी प्रदेशमा कांग्रेसले चार मन्त्री र दुई राज्यमन्त्री भागमा पाएको छ । कांग्रेसबाट प्रदेशसभामा रहेका २९ मध्ये पुर्व मुख्यमन्त्रीद्वय उद्धव थापा र केदार कार्कीबाहेक सबै सांसदले मन्त्री बन्ने आकांक्षा देखाएपछि कांग्रेसमा सकस बढेको बुझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षबाट दुई जना अनि शेखर कोइराला र कृष्ण सिटौला पक्षलाई एक/एक मन्त्री दिने तयारी गरेको कांग्रेस वृत्तमा चर्चा छ । कांग्रेस र एमालेबीच केन्द्रको मोडलमै सहमति भएको छ, जसअनुसार केपी ओली प्रधानमन्त्री रहेसम्म कोशीको नेतृत्व एमालेले नै गर्नेछ भने शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसको मुख्यमन्त्री बन्ने सहमति बनेको छ ।