सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष


प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘शुभ बिहानी ! सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’

राजधानीको एक होटलमा आज एमाले सचिवालय बैठक हुँदैछ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुनेछ । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो ।

photo: rss