रास्वपालाई ‘क्लब’बाट ‘पार्टी’ बनाउन मुकुलका तीन सुझाव

रास्वपालाई ‘क्लब’बाट ‘पार्टी’ बनाउन मुकुलका तीन सुझाव


रास्वपाका निवर्तमान महासचिव डा. मुकुल ढकालले रवि लामिछानेले नकारात्मक भाष्य सिर्जना गर्न लागिपरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत् उनले लामिछानेलाई इङ्गित गर्दै भनेका छन्- ‘प्रचण्ड र ओलीसँग उ आफू मिल्ने, देउवासँग प्रधानमन्त्रीका लागि भित्रभित्रै बार्गेनिङ आफू गर्ने तर उल्टै काङ्ग्रेस-एमाले-माओवादीबाट परिचालित भनेर आरोपचाहिँ ममाथि लगाएका छन् ।’

डा. मुकुलले लेखेका छन्- ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागि मैले पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्ने बित्तिकै मलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गऱ्यो । मलाई आफैंले बनाएको पार्टीबाट ‘क्लब’ले अवैधानिक ढङ्गबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरूपणका लागि पुगेको छु । प्रचण्ड र ओलीसँग ऊ आफू मिल्ने, देउवासँग प्रधानमन्त्रीका लागि भित्रभित्रै बार्गेनिङ आफू गर्ने तर उल्टै काङ्ग्रेस-एमाले-माओवादीबाट परिचालित भनेर आरोपचाहिँ ममाथि लगाएका छन् । अझ केही झुन्डहरू परिचालित गरेर मलाई आफैंले स्थापना गरेको पार्टीविरुद्ध परिचालित भयो भन्ने भाष्य सिर्जना गर्न लागिपरेका छन् । म लक्ष्मण बनेर आफ्नो कर्तव्य पूरा गरिरहेको थिए, तर उनी आफैं रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए ।’

‘प्रिय साथीहरू, ममाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएकै छ । प्रस्तुतिमा शैलीजन्य केही त्रुटीहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर सावित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु । सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन । कतिपय कुराहरू त समय क्रमसँगै प्रमाणित हुँदै गएका छन्, कतिपय हुँदै जानेछन् । साथीहरू, पार्टीमा मैले तल उल्लिखित मुलतः तीन कुराहरूका लागि सङ्घर्ष सुरु गरेको हो । यी तीन कुराहरू गरे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने ‘क्लब’बाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ । क्लबबाट पार्टी बन्ने मात्र होइन, यसले नेपाली जनताको आशालाई जोगाउँदै, त्यसलाई भरोसामा बदल्छ ।’

१. राष्ट्रियता

कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानी करण गरेर पटक पटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नपर्छ ।

२. पारदर्शिता र जबाफदेहिता

पार्टीको आर्थिक हिसाब किताब पारदर्शी हुनपर्छ । त्यस्तै, पार्टीको निर्णय प्रक्रियालाई पारदर्शी र जबाफदेही बनाउनपर्छ । पार्टी सभापतिमाथि लागेका सबै आरोपहरू उपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन भई उहाँ पनि आफ्नो विगतप्रति पार्टी र जनतासामु पारदर्शी र जबाफदेही हुनपर्छ । पार्टीमा कोही पनि प्रश्न माथि छैन भन्ने थिति बसाल्नपर्छ ।

३. वैकल्पिक शक्तिको एकीकरण

हिजोका दिनमा हात उठाएका आधारमा केही साथीहरू जोडिए । कतिपय साथीहरू छुट्नु भयो । अब सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरूलाई एकीकरण गरी वृहत् नागरिक सभाको माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठन गर्नपर्छ । समीक्षा प्रतिवेदनमा उठाइएका पार्टी सुधारका विषयहरूलाई समेटेर नवीन पार्टी निर्माण गर्न सकिन्छ । २०८४ को चुनावलाई लक्ष्यमा राखी पुराना राजनीतिक शक्तिहरू विरुद्ध सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरू एक भई नेपाली जनताको सुशासन र विकासको आकांक्षा पूरा गर्नका लागि पारदर्शिता, जवाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनपर्छ ।