कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाई दोस्रोपटक विश्वासको मत हासिल

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाई दोस्रोपटक विश्वासको मत हासिल


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाउँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेस गरेका थिए । चालीस सदस्यीय प्रदेशसभामा ३८ जना प्रदेशसभा सदस्यहरू आजको प्रक्रियामा सहभागी थिए ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्वनमा छन् भने भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित भइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पऱ्यो । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका नौ, कांग्रेसका १४ जना सदस्यले मत दिएका थिए ।

मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना प्रदेशसभा सदस्यहरू रहेका छन् । प्रदेश सरकार बनाउनका लागि कम्तीमा २१ मत आवश्यक पर्छ ।

मुख्यमन्त्री कँडेल गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए भने वैशाख १३ गते पहिलो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।

त्योबेला कँडेलले माओवादी र समाजवादीको समर्थन पाएका थिए । केन्द्रमा बदलिएको समीकरणसँगै कर्णालीमा पनि कांग्रेस-एमालेबीच सरकार गठन भएको छ । कँडेल नेतृत्वको मन्त्रिपरिषदबाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री कँडेलले आइतबार मात्रै कांग्रेसका चार जना मन्त्री नियुक्त गरेका थिए ।