माओवादी बैठक : बङ्गलादेशको घटनाबाट सबैले पाठ लिनुपर्ने प्रचण्डको धारणा

माओवादी बैठक : बङ्गलादेशको घटनाबाट सबैले पाठ लिनुपर्ने प्रचण्डको धारणा


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार (२५ साउन)देखि सुरु स्थायी समिति बैठकमा सो पार्टीका अध्यक्ष प्रचण्डले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।

माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबीच भएको सहमतिबारे जानकारी गराएका थिए । त्यसपश्चात् उनले हालै बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा गरे ।

लोकतान्त्रिक अभ्यासप्रति सबै सजग र सचेत रहनुपर्ने भन्दै उनले बङ्गलादेशको घटनाबाट सबैले पाठ लिनुपर्ने, जनताको समस्यालाई गम्भीररूपमा लिएर समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।

आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढाएका काममा अवरोध भइरहेको आशङ्का व्यक्त गर्दै प्रचण्डले सुशासनको अभियानलाई अझ दृढताका साथ अघि बढाउन वर्तमान सरकारलाई सचेत गराउनुपर्ने धारणा राखे ।

स्थायी समिति बैठकमा आज शनिबारदेखि सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने बताइएको छ ।

photo: rss