बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले काम सानो र ठुलो नभन्ने हो भने देशमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको हो । उहाँले काम सानो वा ठुलो भनेर विभेद गर्नु भन्दा देशभित्रै भविष्य खोज्न आफ्नै देशभित्र जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने बताउनुभयो ।
‘विदेशमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्न तयार हुने, नेपालमा चाहिँ ६ घण्टा पनि काम नगर्ने प्रवृत्ति हुनुहुँदैन, हामीले आफ्नो अवस्थाअनुसार आफूलाई ढाल्नुपर्छ, सामुदायिक विद्यालयका शिक्षाको स्तर गुणस्तरीय बनाउन हामी लागेका छौँ, अवस्था सुदृढ हुन्छ । तसर्थ नेपालका काम गर्नका लागि अवसर छ, युवाहरू निराश हुनुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो ।
उहाँले बागमती प्रदेशले सूचना प्रविधिलाई जोड दिएको, धेरै कार्यविधि बनाएको छ भन्दै यसलाई उपयोग गर्न आग्रह गर्नुभयो । बागमती प्रदेशले प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रोत्साहन कार्यविधि बनाएको जानकारी गराउँदै १३वटै जिल्लाका युवाहरूलाई समेटेर अगाडि बढ्छौँ भन्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया