नेपाली परदेश पलायन होइन नेपाली लोपोन्मुख भएको बुझाउँदछ । त्यसै नेपाल सरकारले शैक्षिक प्रणाली र पाठ्यक्रममा व्यापक परिवर्तनको आवश्यकतालाई तुरुन्तै अवलम्बन गरोस्, विश्व परिवेश र समयसापेक्ष जनशक्ति उत्पादनमा ध्यान देओस् ।
✍ दीपक डल्लाकोटी
यौवन अवस्थादेखि नै परदेशको यात्रा गरेपछि नेपाली माटो, नेपालीपन, परम्पागत तथा मौलिक संस्कृतिले नझस्काएको दिन कहिले छ र ! मौसमी चक्रअनुसार आउने साउने सङ्क्रान्ति, हरितालिका तीज, गाईजात्रा जस्ता पर्वले हृदय स्पर्श गराइरहन्छ ।
नेपालमा बसोबास गरेका हामी नेपाली र सामाजिक मनोविज्ञानले विदेशका विकास र प्रविधिले सुसज्जित संसारलाई मुक्त कण्ठले प्रशंसा गर्दा ती नेपालीपनले नबिझाएको कुन परदेशी नहोला र ? अझ २१औँ शताब्दीका हामी नेपाली युवादेखि वयस्कसम्मले विदेश यात्रालाई गायत्री मन्त्रझैँ जप्नाले गाउँघर, खेतीयोग्य जमिन उजाड बनाउनुका साथै नेपाली समाजलाई विभक्त गरेको कुरा घामजस्तै छर्लङ्ग छ ।
उहिले आर्थिक अवस्था कमजोर भएका गाउँबाट शहर झर्थे । शहरनिवासी शिक्षा र रोजगारीको बहानामा भारत जान्थे, आजकल कमजोर आर्थिक अवस्थाका नेपाली ऋणधन गरी अरबको खाडी र हुनेखाने परिवारका सदस्य अमेरिकी, युरोप तथा अस्ट्रेलिया भासिने क्रम असार साउने भेलजस्तै उर्लंदो छ, दोष सबैको भए पनि विशेष शिक्षा प्रणालीको नै देखिन्छ । डेट एक्सपाएर ओखतिजस्तै दशकौँदेखिको शैक्षिक प्रणालीले कहिले काँचुलि फेरेन र त जनताको मनोविज्ञानमा परिवर्तन गरि आत्मनिर्भर र सिपयुक्त जनशक्ति निर्माण भएन ।
अब अस्ट्रेलिया कै कुरा गरौँ । यहाँका हरेक शहर जनघनत्व धेरै, तर गाउँबस्ती नेपालका जस्तै उस्तै स-सना घर, त्यो पनि एकनासका छन् । अस्ट्रेलियाका शहरहरूमध्ये न्यु साउथ वेल्सको सिड्नी शहर छ, जुन विश्वकै महँगो बसोबास स्थानमा पर्दछ । जहाँ, विगत पाँच वर्षदेखि पङ्क्तिकारले जीवनयात्रा चलाउँदै आएको छ ।
नेपालको ऐतिहासिक ट्रलिबसलाई सम्झाउने सिटी मेट्रो, अनि ठुला सडक तथा भवनले २–३ महिना त संसारै जितेजस्तो बनाउँछ । अझ यहाँ पढ्न वा घुम्न आउनेहरूलाई २-३ महिना बितेको पत्तै हुँदैन । अन्नपूर्ण र सगरमाथा बेसक्याम्पको यात्रामा हराएझैँ बनाउँछ, तर जब गोजी रित्तिँदै जान्छ, अनि सुरु हुन्छ चिन्ता र चासो अनि गन्तव्यको पाटो !
नेपालमा खनखन्ती पैसा गनेर लत्ताकपडा, खाद्यान्न, विद्युतीय समान खरिद त्यो पनि १-२ घण्टा बार्गेनिङ गरेर किनेको बानी तर यहाँ भोग लाग्यो बैंक कार्ड प्याप गऱ्यो खायो, मन परेको समान किन्दा किन्दै बैंक ब्यालेन्स माइनसमा पुगेको पत्तो हुँदैन तब सुरु हुन्छ अन्तरविलौना, कोसँग सापटी लिने वा माग्ने नेपालका स्कुल, कलेजमा साथीभाइसँगको हाँसिमजाक, नोटकपी साँटासाट, मनपरेकालाई मनपत्रको आदानप्रदान, घर पुगेपछि आमाले राखिदिएको खाजा वा मकै भटमास, गुन्द्रुकको अचार तथा दैनिक घरायसी कामले नेपालीपन सामाजिक मनोविज्ञानलाई मजबुत नबनाएको दिनै हुन्न, वल्लोपल्लो घर घन्काएर नपढेको दिनैहुँदैथ्यो तर यहाँ पढेर घर फर्कियो, पैसा भए खाऊ नभए घर गएर आफै बनाउ, नभए भोकभोकै हतारहतार ट्रेन चढेर काममा जाउ, अनिन्द्राले बस वा ट्रेन छुट्नु, शारीरिक आलस्यता मानसिक दुविधाले आमाको काख र बुबाको साथलाई झलझल्ती सम्झाइरहन्छ । त्यति मात्रै होइन परदेशको बसाइ घरदेशको आर्थिक चाप सामाजिक परिवेशले पानीविनाको माछासरह नै नबनाएको कुन दिन हुँदैन र !
कहिलेकाहीँ त साथीभाई भेटौँ, मिलौँ भन्दा पनि कसैका कामका कारण त कसैका त्रैमासिक परीक्षाका कारण ब्यस्त भएर महिनौँ जान्छन् जसले गर्दा परदेशीको मानसिक र सामाजिक जीवन निस्क्रिय बनिसकेको हुन्छ । नेपाल बसेकाले किन बिर्स्यो वा फोन गर्दैन आजकल, फलानो ठाउँ पुग्यो ठुलोबडो भएछ भनेर मन दुखाउँछन्, यता ब्यथा सुत्केरी आमालाई भएसरह नै छ ।
यस्ता जीवनयापनबाट पीडित युवा, विद्यार्थीले वार रेस्टुरेन्ट वा जुवाघर(पप), मा झम्के साझमा नपुगेको कुन दिन होला र ! अनि पढाइको सट्टा कुलत तथा पैसाको सट्टा ऋणमा डुबेर घरपरिवार आफन्त बिर्सन पर्नुका कारण जति बयान गरेपनि सकिँदैन ।
यसरी नेपाली परम्परा संस्कृतिलाई पश्चिमी शैलीमा परिवर्तन गरेर नेपालका अभिभावक सन्तान हुनु र नहुनु एकै हो भन्ने अवस्थामा पुगेर आफ्नो रेखदेख त टाढाका कुरा भएका आफ्ना सन्ततिलाई पनि गुमाउनुपरेको ब्यथा एकादेशको कथाजस्तै भयो । यो विकास हैन विनासको मार्ग हो भन्दा फरक नपर्ला, त्यही हो विदेशिएका हजार मा १० जना सफल हुँदैमा आफ्ना सन्तानलाई लहैलहैमा परदेशिन बाध्य बनाउने अभिभावक कम दोषी देखिँदैनन् है ! यसले नेपाली परदेश पलायन होइन नेपाली लोपोन्मुख भएको बुझाउँदछ । त्यसै नेपाल सरकारले शैक्षिक प्रणाली र पाठ्यक्रममा व्यापक परिवर्तनको आवश्यकतालाई तुरुन्तै अवलम्बन गरोस्, विश्व परिवेश र समयसापेक्ष जनशक्ति उत्पादनमा ध्यान देओस् भन्न चाहन्छु ।
यी त भए परदेशी जीवनले ल्याएका सामाजिक परिवेशका कुरा, जुन काम वा मार्गले नेपालको सामाजिक र सांस्कृतिकपनलाई बिर्साउँछ, तब उ र उसका अभिभावक जीवित त रहन्छन् तर जीवन्त रहन सक्दैनन् भन्दै बिराम दिन चाहन्छु । अस्तु ।
प्रतिक्रिया