संविधानको ‘प्रतिगामी संशोधन’ गरिन लागेको तमलोपाको आरोप

संविधानको ‘प्रतिगामी संशोधन’ गरिन लागेको तमलोपाको आरोप


कांग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा षडयन्त्रपूर्वक संविधान संशोधन गर्न खोजिएको र समावेशी लोकतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भएको भन्दै तराई-मधेश लोकतान्त्रिक पार्टीले आफ्ना कार्यकर्ताहरुलाई सम्भावित संघर्षको निमित्त तयार रहन निर्देशन दिएको छ । जनकपुरस्थित तमलोपा कार्यालयको सभाकक्षमा शनिबार (१ भदौ) आयोजित प्रशिक्षण कार्यक्रममा तमलोपाका नेताहरुले यस्तो निर्देशन दिएका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै तमलोपा अध्यक्ष तथा पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले ‘नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा उल्लेखित संविधान संशोधनको अन्तर्य अग्रगामी परिवर्तनतिर र जनताले संविधानमा खोजेको संशोधन हुनु नभइ समावेशी लोकतन्त्रको अहिले रहेको स्थितिलाई पनि पछाडि धकेल्न र, प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्वको माध्यमबाट सिमान्तिकरणमा रहेका मधेशी, थारु, आदिवासी-जनजाति, दलित आदिको सहभागिता समाप्त गर्न लक्षित रहेको’ ठोकुवा गरे । उनले यो पश्चगामी षडयन्त्र भएको भन्दै यसविरुद्धको संघर्षको निमित्त तयार रहन आग्रह गरे ।

‘नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले संविधानको कस्तो संशोधन चाहेको हो प्रष्टसंग र आधिकारिक रुपमा अक्षरमै किन राख्दैन भने तिनको भित्री मनसुवा संविधानको प्रतिगामी संशोधन हो, बडो सुनियोजित तरिकाबाट जनतामा भ्रम छरिँदै छ र त्यसको निमित्त जनताको आँखामा छारो हाल्ने वातावरण बनाउन विदूषकहरु खटाइएको छ’, अध्यक्ष लालको आरोप छ ।

तमलोपाका वरिष्ठ नेता तथा तत्कालिक संविधानसभा सदस्य डा. विजयकुमार सिंहले प्रतिनिधिसभाको निर्वाचन पूर्ण समानुपातिक पद्धतिबाट हुनुपर्ने र प्रदेशहरुलाई निर्वाचनक्षेत्र तोक्नुपर्ने तर्क गरे । उनले कांग्रेस-एमाले गठबन्धनले प्रतिनिधिसभाबाट समानुपातिक प्रतिनिधित्व नै हटाउन खोजेको, संघीय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रियसभाको मूल भूमिका नै समाप्त गर्न चाहेको र, स्थायित्वको नाममा कांग्रेस र एमालेको ओलीगार्की अल्पतन्त्र कायम गर्न खोजेको आरोप लगाए । नेता सिंहले संसदमा प्रतिनिधित्व गर्ने मधेशकेन्द्रित भनिने दलहरु यस महत्वपूर्ण विषयमा चुपचाप रही सत्ताभोग गर्न लागेको देख्दा दुःख लागेको भन्दै तराई-मधेश लोकतान्त्रिक पार्टी यसविरुद्ध खबरदारी र आवश्यक परे संघर्ष गर्नबाट पछि नहट्ने चेतावनी दिए ।