खेलकुदमा भ्रष्टाचारको भूकम्प

खेलकुदमा भ्रष्टाचारको भूकम्प


भ्रष्टाचार, भ्रष्टाचार, भ्रष्टाचार, छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भ्रष्टाचार † के साँच्चै भएको हो त ‘छैटौँ’मा भ्रष्टाचार ? अहिले यो भ्रष्टाचार शब्दको भूकम्पले खेलकुद काँपिरहेको छ । खेलकुदमा नानाथरीका कम्पन र झड्काको महसुस गरिन थालेको छ । भागाभाग र दौडादौडको स्थितिको सिर्जना भएको छ । आरोप र प्रत्यारोपको चिरामा खेलकुद बाँडिन पुगेको छ । कसैलाई कालो दाग लगाउन फुर्सद छैन भने कोही सफाइ दिनमैै व्यस्त देखिएका छन् । यसरी अहिले खेलकुदमा भ्रष्टाचारको नाममा पुन: फोहोरी खेल आरम्भ भएको छ ।
खेलकुदमा आएको यो भ्रष्टाचारको भूकम्प कतिको हो ? त्यसको मापन गर्ने प्रक्रिया प्रारम्भ भएको छ । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले बुझाएको आर्थिक प्रतिवेदन चित्त नबुझेपछि व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको हो । समितिले राखेपको प्रतिवेदन चित्तबुझ्दो र सन्तोषजनक नभएको भन्दै गत साता उपसमिति गठन गरेको हो । समितिले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको भ्रष्टाचारको आरोपमा राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमाथि छानबिन गर्न भानुभक्त जैसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त पाँच सदस्यीय छानबिन समितिमा कमला पन्त, अलाउद्दिन अन्सारी, प्रमोद गुप्ता र टेकबहादुर बस्नेत रहेका छन् । छानबिन समितिले उक्त उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय निर्धारण गरेको छ ।
माओवादीबाहेकका सुदूरपश्चिमका एघार राजनीतिक दलहरूले छैटौँमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै केही साता पहिले सार्वजनिक लेखा समिति र अख्तियार अनुसन्धान आयोगमा उजुरी दिएका थिए । छैटँैँमा भ्रष्टाचारको गन्ध आएपछि सार्वजनिक लेखा समितिले गत महिना एक साताभित्र पेस्की फस्र्योट गरी प्रतिवेदन बुझाउन राखेपलाई निर्देशन दिएको थियो । समितिको निर्देशनको पालना गर्दै राखेपले पेस्की फस्र्योटसम्बन्धी कामकारबाही अगाडि बढाएको थियो । तर, पछि समयाभावको कारण देखाउँदै समितिले तोकेको चैत २५ गतेसम्म सम्पूर्ण हिसाबकिताब देखाउन राखेप असमर्थ भएको थियो । २५ गतेभित्र प्रतिवेदन बुझाउन नसकेपछि राखेपले थप समयको माग गरेको थियो । राखेपले सम्पूर्ण हिसाबकिताब दुरुस्त पार्न कम्तीमा पनि तीन महिनाको समय लाग्ने बताउँदै क्रमिक रूपमा समितिलाई विवरण पेस गर्न जनाएको थियो । सोहीअनुरूप गत साता राखेपले १३ करोड १८ लाख ८ सय ७१ रुपैयाँको पेस्की फस्र्योटको विवरण समितिमा बुझाएको थियो ।
उपसमितिको गठनसँगै अहिले राखेपमा नौलो तरङ्ग उत्पन्न भएको छ । सार्वजनिक लेखा समितिका अध्यक्ष रामकृष्ण यादवले गत साता राखेपले बुझाएको आर्थिक प्रतिवेदन चित्तबुझ्दो नभएको भन्दै उपसमितिको गठन गर्नुपरेको बताएका छन् । यादवले राखेपको बजेट विनियोजन प्रक्रिया र बुझाएको प्रतिवेदन सन्तोषजनक भएको स्पष्ट पारेका छन् । समितिलाई राखेपको उक्त कुरा चित्त नबुझेकै कारण वास्तविक कुरो अर्थात् भ्रष्टाचार भएको हो कि होइन त्यसको सत्यतथ्य सार्वजनिक गर्न उपसमिति गठन गरिएको यादवले बताए । जसका लागि उपसमिति गठन भएको दोस्रो दिन नै समितिले आफ्नो काम–कारबाही अगाडि बढाउने क्रममा खेलकुद राज्यमन्त्री गोपी अछामी, खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरे र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामासँग दोस्रो चरणको बयान लिएको थियो ।
भ्रष्टाचारको आरोपमा छानबिन समितिमा दुईपटक बयान दिइसकेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले छैटौँमा भ्रष्टाचार नभएको प्रस्ट पारेका छन् । लामाले केन्द्रकोे मान्छे अर्थात् माथिल्लो तहको व्यक्तिले कसैले भ्रष्टाचार नगरेको दाबी गर्दै माथिल्लो तहको व्यक्तिले नगरे अरूले गर्न नसक्ने बताए । लामाले जिल्ला, क्षेत्र र केन्द्रलाई बजेट विनियोजन गर्दा निर्देशिकाअनुसार गरिएको खुलासा गर्दै निर्देशिकाअनुरूप भएको खर्चलाई भ्रष्टाचारको संज्ञा दिन नमिल्ने प्रस्ट पारेका थिए । छैटौँको फस्र्योट एकैचोटि हुन नसक्ने र यसमा समय लाग्ने बताउँदै लामाले क्रमिक रूपमा हुँदै जाने बताए ।
छानबिन समिति गठन हुनु राम्रो कुरा हो, यो हुनु पनि पर्छ । तर, भौतिक पूर्वाधारहरूको निर्माण कार्य सुचारु रहेको अवस्थामा छानबिन हुनुले छानबिन नै अपूरो हुने अवस्थाको सिर्जना हुन्छ । तसर्थ छानबिन समितिले पनि यसमा गम्भीर भएर सोच्नुपर्ने लामाको धारणा थियो ।
छैटौँमा भ्रष्टाचार भएकै हो त ? भन्ने प्रश्नमा लामाले यो सबै खेलकुदको विकास देख्न नसक्ने र माओवादी पार्टीलगायत आफ्नो छवि धमिल्याउनका लागि खेलिएको खेल हो भने । लामाले अहिले सुदूरपश्चिमका एघारवटा राजनीतिक पार्टी आफूहरूलाई खुइल्याउन लागि परेको आरोप लगाउँदै यो राजनीतिक चलखेल मात्रै हो भनेका छन् । यो सबै मैले समग्र खेलकुदको विकासका लागि चालेको कदमलाई कसरी रोक्न सकिन्छ भन्ने दुरासय सोचको उपज मात्रै हो । तसर्थ खेलकुदमा आफू पनि केही नगर्ने अर्काले गरेको पनि देख्न नसक्ने ‘बाँदरे चरित्र’का फटाहाहरूको कार्य हो यो । यस्तो गतिविधिले केही समय खेलकुदलाई गुमराहमा राख्न सकिने भए पनि दीर्घकालीन नरहने लामाको दाबी थियो ।
सर्वप्रथम म विधिको शासनमा विश्वास गर्छु, धाउने, पाउने र खुवाउनेमा म विश्वास गर्दिनँ । वर्तमान अवस्थामा जुन भ्रष्टाचारको कुरा उठेको छ त्योे सबै मिडियाले उठाएका कुरा मात्र हुन् । मिडियाले उठाएको कुरा कति सत्य छ त्यसको वास्तविक चुरो पत्ता लगाउन गहिरिएर छानबिन हुनु आवश्यक छ । बाहिरी हल्लाको आधारमा कसैले पनि भ्रष्टाचार भएको प्रमाणित गर्न सक्दैन । तसर्थ अख्तियार र सार्वजनिक लेखा समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेलगत्तै राखेपले पनि आफ्नो प्रतिवेदन मिडियामार्फत सार्वजनिक गर्नेछ । त्यसैको तयारीका लागि आवश्यक परे प्राविधिक टोलीसँगै मिडियालाई पनि साथै लगेर सुदूरपश्चिम जाने राखेपले योजना बनाएको छ । छैटौँमा रकमको विनियोजन गर्दा निर्देशिका पारित गरेर गरिएकोले सानो रकममा पनि दायाँबायाँ हुन नसक्ने लामाले प्रस्ट पारेका थिए । यदि जिल्ला र क्षेत्रमा कसैले निर्देशिकाविपरीत कार्य गरेको छ भने त्यो सजायको भागीदार हुने पनि लामाले बताए ।
जे होस्, अहिले छैटौँमा व्यापक भ्रष्टाचार भएको आरोपमा राखेप घेरिएको छ । केन्द्रदेखि जिल्लासम्म माओवादीले आफ्ना कार्यकर्तालाई पोसेको विभिन्न राजनीतिक दलहरूले आरोप लगाएका छन् । भौतिक पूर्वाधारदेखि खेलाडी प्रशिक्षणसम्ममा माओवादीले ठूलो घोटाला र ब्रह्मलुट गरेको आरोप लागेको छ । तसर्थ सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेर वास्तविक सत्यतथ्यको सार्वजनिक गर्ने पहल गरे पनि आफ्नै हातमा डाडुपुन्यु भएको माओवादीका अगाडि समिति सूर्यका अगाडि दियो सावित भएमा चाहिँ अन्यथा मान्नुपर्ने छैन । अब शक्तिअगाडि कानुन झुक्छ कि कानुनका अगाडि शक्ति त्यो अहिले हेर्न लायक भएको छ । नेपाली खेलकुदको इतिहास पल्टाउँदा अहिलेसम्म कुनै पनि भ्रष्टाचार गर्ने पदाधिकारीलाई कारबाही नभएको स्थितिमा समितिको यो पहल पनि हात्ती आयो हात्ती आयो फुस्सा नहोला भन्न सकिँदैन ।

रूपन्देही टिम च्याम्पियन
रूपन्देहीले प्रथम नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियनको उपाधि जितेको छ । प्रतियोगितामा रूपन्देहीले पाँच स्वर्ण, दुई रजत र एक कास्य जितेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा चार स्वर्ण र तीन कास्य साथ ललितपुर दोस्रो भयो भने बाराले दुई स्वर्ण, एक रजत र तीन कास्य हात पार्दै तेस्रो स्थानमा रह्यो । त्यस्तै काठमाडौंले एक स्वर्ण, दुई रजत र चार कास्य, विजेश्वरी ज्ञान मन्दिरले एक स्वर्ण, दुई रजत र एक कास्य, पर्साले एक स्वर्ण, एक रजत र दुई कास्य तथा खोटाङले एक स्वर्ण र एक रजत जितेका थिए ।
नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषमा खोटाङका भीम परियार तथा महिलामा विजेश्वरीकी करुणा थापा उत्कृष्ट खेलाडी घोषित भए । गुल्मीले अनुशासित टिमको उपाधि हात पार्‍यो । विजेतालाई नेता केपी ओली तथा राखेपका पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । तीनदिने प्रतियोगितामा २६ जिल्लाका तीन सय खेलाडीले १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

महिला खुला भलिबल हुने
श्री चण्डेश्वरी युवा क्लब तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा प्रथम चण्डेश्वरी महिला खुला भलिबल प्रतियोगिता यसै महिनाको १५ गतेदेखि हुने भएको छ । रामेछापको मन्थलीमा हुने प्रतियोगिताको विजेताले ५० हजार पाँच सय नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष जगतबहादुर सुनुवारले जनाएका छन् । त्यस्तै दोस्रो हुने टिमले ३० हजार पाँच सय, तेस्रो हुनेले १५ हजार पाँच सय तथा चौथो हुनेले १० हजार पाँच सय नगद पुरस्कार जित्नेछन् । उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच हजार रुपैयाँबराबरको मोबाइल सेट
प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट सटर, लिफ्टर, डिफेन्डर तथा ब्लकरले दुई हजार पाँच सयबराबरको मोबाइल सेट प्राप्त गर्नेछन् । तीनदिने प्रतियोगिताको अनुमानित बजेट आठ लाख २५ हजार रुपैयाँ रहेको बताइएको छ ।

बक्सिङ खेलाडी सम्मानित
छैटौँ राष्ट्रिय खेलकुदमा ललितपुरका पदकविजेता, दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदका पदकविजेता तथा ओलम्पिकमा सहभागिता जनाएका नेपाली मुक्केवाजलाई ललितपुर जिल्ला बक्सिङ सङ्घले हालै सम्मान गरेको छ । सम्मानित हुनेहरूमा ओलम्पियन नाम थापा, रामप्रसाद गुरुङ, ओमप्रसाद पुन, भीम गुरुङ, स्व. पुष्करध्वज शाही, रविराज थापा, नरेन्द्र पुमो, विष्णु मालाकार, स्व. दलबहादुर रानामगर, उमेश मास्के, मानबहादुर श्रेष्ठ, प्रवीण तुलाधर, विष्णुबहादुर सिंह, डम्बरदत्त भट्ट, रामबहादुर गिरी तथा झपटसिंह भुजेल रहेका थिए । सम्मानित एसियाड पदकधारीमा तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल, चित्रबहादुर गुरुङ तथा दीपक महर्जन थिए । साग पदक विजेतामा प्रकाश थापामगर र रामचन्द्र थापामगर छन् ।
ललितपुरका छैटौँका पदक विजेतामा मनोहर बस्नेत, देवेन्द्र महर्जन, सुरेन्द्र कार्की, नरेन्द्र देसार तथा उमेश रिजाल छन् । त्यस्तै दक्षिण एसियाली आर्मी स्पोर्टस् मिटमा स्वर्ण जितेका मुक्केवाज देवेन्द्रराजसिंह ठकुरीलाई पनि सम्मान गरिएको थियो । सम्मानितहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रशंसापत्र प्रदान गरेका थिए ।

नेपाली सेनालाई भलिबल उपाधि
चौथो नखिपोट राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । लगनखेलस्थित सहआयोजक नमुना मच्छिन्द्र उमाविको कोर्टमा भएको उपाधि भिडन्तमा साविक विजेता सेनाले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २५–१९, १८–२५, २३–२५, २५–२१ र १५–५ को सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो । उपाधिसँगै सेनाले ६० हजार नगद पुरस्कार जितेको थियो । त्यस्तै, गत वर्ष पनि उपविजेतामै सीमित एपीएफले ३० हजार नगद पुरस्कारमा चित्त बुझाउनुपरेको थियो । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रबाट वाकओभर पाउँदै तेस्रो भएको काभ्रे भलिबल क्लबले २० हजार नगद पुरस्कार थापेको थियो ।
एपीएफका मिलन मल्ल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आठ हजार नगद पुरस्कारबाट पुरस्कृत भएका थिए । त्यस्तै, सेनाका भोजबहादुर थापा उत्कृष्ट स्पाइकर, एपीएफका पुष्पराज मल्ल उत्कृष्ट डिफेन्डर तथा सेनाका राजु थापा उत्कृष्ट लिफ्टर चुनिएका थिए । विजेतालाई नेपाल भलिबल सङ्घका नवनिर्वाचित अध्यक्ष दानबहादुर तामाङले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा अध्यक्ष तामाङले रातारात नयाँ नेतृत्वले चमत्कार गर्न नसक्ने बताउँदै नवनिर्वाचित कार्यसमितिले चाँडै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए ।

खेलाडी कल्याणकारी कोषको शुभारम्भ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी कल्याणकारी कोषको विधिवत् रूपमा शुभारम्भ गरेको छ । हालै आयोजित एक कार्यक्रमबीच राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री कमला रोकाले कोषको विधिवत् रूपमा उद्घाटन गरेकी हुन् । कोषलाई प्रभावकारी एवम् संस्थागत ढङ्गले अगाडि बढाउन निमावलीसमेत तयार गरिएको छ । शुभारम्भको पहिलो दिन राखेपको तर्फबाट मन्त्री रोकाले कोषमा १० लाख रुपैयाँ प्रदान गरिन् । त्यस्तै विभिन्न राष्ट्रिय खेल सङ्घसंस्था, खेलाडी, प्रशिक्षक र व्यक्तिले पनि कोषमा आर्थिक सहयोग प्रदान गर्नुका साथै सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । पहिलो दिन १५ लाख ९६ हजार तीन सय ८७ रुपैयाँ सङ्कलन भएको छ । यसअघि कोषमा एक करोड १० लाख रुपैयाँ थियो ।
कार्यक्रममा राखेपले खेलाडीलाई अबउप्रान्त प्रदान गर्ने खेलाडी परिचयपत्र पनि सार्वजनिक गरिएको थियो । परिचयपत्रलाई प्लाटिनम, गोल्ड र सिल्भर गरी तीन भाग वर्गीकरण गरिएको छ । परिचयपत्र वितरणको सुरुवातका क्रममा वैकुण्ठ मानन्धर, जितबहादुर केसी, संगीना वैद्य, दीपक विष्ट, दीपक श्रेष्ठ तथा दीपक महर्जनलाई प्लाटिनम कार्ड मन्त्री रोकाले प्रदान गरेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रोकाले खेलाडीभन्दा बाहेक अन्यले यो कोषको प्रयोग गर्न नपाउने बताउँदै कोषले खेलाडीको उत्साह वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी थिइन् । राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले कोषलाई वृद्धि गर्न विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राखेप सदस्यसचिव युवराज लामाले खेलमा निरन्तर लामो समयदेखि समर्पित तथा आर्थिक हिसाबले कमजोर खेलाडीले मात्र कोषबाट सहयोग प्राप्त गर्ने स्पष्ट पार्नुभयो । सदस्यसचिव लामाले कोषलाई पारदर्शी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा आउने नेतृत्वले पनि कोषलाई वृद्धि गर्दै लग्नेतर्फ ध्यान पुर्‍याउनुपर्ने बताउनुभएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले कोषमा सहयोग गर्नेको उत्साह प्रशंसनीय रहेको बताउनुभयो । अन्य वक्ताहरूले कोषलाई वृद्धि गर्न राखेपले विभिन्न निजी तथा सरकारी संस्थासँग समन्वय गर्नुपर्ने आवश्यकता औंलाएका थिए ।

सिटिजन्स बैंक टेनिस सम्पन्न
प्रथम सिटिजन्स बैंक भेट्रान्स टेनिस प्रतियोगिताको ३५ वर्षमाथिको एकलमा सानु लामा र ४५ वर्षमाथि एकलमा कृष्णराज घलेले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको फाइनलमा सानुले सुकमान तामाङलाई ६–२ र ६–३ ले पराजित गरेका हुन् । उपाधिसँगै सानुले १० हजार नगद पुरस्कार जिते भने उपविजेता सुकमानले पाँच हजारमै चित्त बुझाएका थिए । त्यस्तै अर्को उपाधि भिडन्तमा कृष्णले सुवर्ण धाक्वामाथि ७–५ र ७–५ को कठिन जित हासिल गरेका थिए ।
दशरथ रंगशाला टेनिस कम्प्लेक्स म्यानेजमेन्ट कमिटीद्वारा आयोजित प्रतियोगिताको ५५ वर्षमाथि जोडीमा ज्ञानेन्द्र ताम्राकार र गौतमलाल प्रधानको जोडी पहिलो भएका थिए । फाइनलमा उक्त जोडीले डा. इन्द्रजित राई र रत्न गुरुङको जोडीलाई ६–४ र ६–२ ले पाखा लगाएका थिए । मनोज राणा र शोभितमान श्रेष्ठको जोडीलाई ६–१ र ६–२ ले हराउँदै कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी ४५ वर्षमाथि जोडीमा च्याम्पियन बने । सिटिजन्स बैंक प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको ३५ वर्षमाथिको जोडीमा राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीले शीर्ष स्थान कब्जा गरेको थियो । फाइनलमा उनीहरूले चन्द्र शाही र शोभितमान श्रेष्ठको जोडीलाई ६–३ र ६–१ ले पराजित गरेका थिए । यसअघि ५५ वर्षमाथिको एकलमा विदुर विष्ट तथा ६५ वर्षमाथिको एकलमा भिक्ट्री राणा स्वर्ण चुमेका थिए । विजेतालाई राखेपका सदस्यसचिव युवराज लामा, सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए । उक्त अवसरमा वरिष्ठ फोटोग्राफर श्याम चित्रकारलाई नगद पाँच हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । गत सातादेखि सुरु भएको प्रतियोगिताको विभिन्न सात स्पर्धामा ९६ प्रतिस्पर्धी सहभागी थिए । राखेप हातामा रहेको टेनिस कोर्ट जीर्ण बनेपछि मर्मतसम्भारका लागि दशरथ रंगशाला टेनिस कम्प्लेक्स म्यानेजमेन्ट कमिटी बनेको थियो । मर्मतसम्भार सम्पन्न भएपछि उक्त कमिटीले प्रतियोगिता आयोजना गरेको कमिटीका अध्यक्ष एवम् अखिल नेपाल लनटेनिस सङ्घका महासचिव मनोहरदास मूलले जनाएका छन् ।

करातेमा नेपालको उत्कृष्ट प्रदर्शन
सिंगापुर खुला अन्तर्राष्ट्रिय करातेमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । सिंगापुरमा भएको उक्त प्रतियोगितामा नेपाली खेलाडीले एक स्वर्णसहित सात पदक जितेका छन् । ११औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी गंगादेवी अधिकारीले महिलाको ५५ केजीमाथि नेपाललाई स्वर्ण दिलाएकी थिइन् । त्यस्तै, पुरुषको ६० केजीमा ११औँ सागका रजतधारी विनोद महर्जन, ६९ केजीमा मुकुन्द महर्जन तथा ८४ केजीमा दिगम्बर पन्तले रजत हात पारेका थिए । यसैगरी महिलाको ५५ केजीमुनि रोजी नगरकोटीले रजत जितेकी थिइन् । सो प्रतियोगिताको पुरुषतर्फको ५५ केजीमा ११औँ सागका स्वर्ण विजेता सुनील लामाले कास्य पदक जितेका थिए । त्यस्तै पुरुषको एकल कातामा पर्शुराम बास्तोला तेस्रो भएका थिए ।

जातीय समुदायलाई चुनाव क्षेत्र बनाउने
प्रचण्ड प्रस्तावमा देउवाको सहमति
राजनीतिक दलका कतिपय जिम्मेवार नेताहरू देशको भविष्यप्रति कतिसम्म खेलवाड गर्दै छन् भन्ने कुराको एउटा उदाहरण गत आइतबारको एक बैठकमा पनि देखियो । मधेसी मोर्चासहित प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरू संविधान निर्माणका क्रममा विवादित रहेका विषयमा सहमति खोज्न आयोजित बैठकमा सहभागी भएका थिए । नागरिकता, निर्वाचन प्रणाली, सङ्घीयता र शासकीय स्वरूपजस्ता अति संवेदनशील विषयमा छलफल चल्दाचल्दै माओवादी अध्यक्ष प्रचण्डले एक नयाँ तर घोर आपत्तिजनक धारणा प्रस्तुत गरे र काङ्गे्रसका शेरबहादुर देउवाले तत्कालै समर्थन पनि जनाइहाले । प्राप्त जानकारीअनुसार प्रचण्डले ‘हरेक जातीय समुदायका निम्ति सङ्ख्याको आधारमा प्रतिनिधि सङ्ख्या (प्रतिशत) निर्धारण गर्ने र निर्धारण गरिएको सङ्ख्यामा प्रतिनिधि छनोट गर्न सम्बन्धित समुदायभित्र मतदान गर्ने व्यवस्था गर्नु उपयुक्त हुने’ प्रस्ताव बैठकमा राखेका थिए । प्रचण्डको आसय देशका सवा सयजति जातीय समुदायलाई निर्वाचन क्षेत्र मानेर सम्बन्धित जातको प्रतिनिधिका लागि सम्बन्धित जातले मात्र मतदान गर्ने र संसद् गठन गर्ने भन्ने थियो । प्रचण्डको यस्तो प्रस्तावमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निकै प्रसन्नतापूर्वक सहमति जनाए । एमालेका नेताहरूले केही बोल्न सकेनन् । प्रचण्डको घातक प्रस्तावमा देउवाले झ्याप्पै सहमति जनाएपछि बैठकमा अन्य सहभागी स्तब्ध भए । कतै माओवादी र काङ्गे्रसका बीचमा यसप्रकारको सहमति पहिले नै बनिसकेको रहेछ कि भन्ने आशङ्का पनि उनीहरूले गरे । देउवाले प्रचण्ड प्रस्तावमा सहमति जनाएपछि नेपाली काङ्गे्रस संसदीय दलका नेता एवम् उपसभापति रामचन्द्र पौडेल निकै जङ्गिए । पौडेलले जातीय आधारमा विभाजन ल्याएर तपाईं कस्तो प्रकारको प्रजातान्त्रिक अभ्यास गर्न खोज्दै हुनुहुन्छ ? संसारमा कहाँ चलेको छ यस्तो मोडल ? जातीय आधारमा प्रतिनिधित्व हुने भएपछि विचारका आधारमा स्थापित राजनीतिक दलहरूको अस्तित्व के हुन्छ र अन्तत: देश नै विभाजनको तहसम्म पुग्छ कि पुग्दैन भन्नेजस्ता प्रश्न गरी प्रचण्डको प्रस्तावमा विमति जनाएका थिए । पार्टी सभापति सुशील कोइरालाले छलफलसम्म गर्दा फरक पर्दैन कि भन्ने टिप्पणी राख्दा नेता पौडेलले यस्ता अनावश्यक कुरा अघि सारेर माओवादीले समय लम्ब्याउन मात्र खोजेको बताउँदै होसियार हुनुपर्ने धारणा राखेका थिए । पौडेलको विचारमा माओवादी प्रजातान्त्रिक संविधान निर्माणको पक्षमा छैन र संविधानका बारेमा छलफल गर्ने भन्दै नानाभाँतीका कुरा ल्याएर उसले समय मात्र बर्बाद गरिरहेको छ । प्रचण्डको प्रस्तावमा देउवाले समर्थन गर्नुको कारण अलिक बेग्लै रहेको देखिन्छ । जातीय समुदायलाई चुनाव क्षेत्र मान्दा देशमा सबैभन्दा बढी जनसङ्ख्या क्षेत्रीहरूको रहेको र त्यस आधारमा सबैभन्दा ठूलो दलको हैसियतमा आफूहरूले हैकम चलाउन पाइने ठानेर देउवाले हतारहतार प्रचण्डको प्रस्तावमा सहमति जनाएको बताइन्छ । तर, नेता पौडेलको कडा प्रतिवादपछि प्रचण्ड आफ्नै प्रस्तावमा टिक्न सकेनन् । प्रचण्ड नै चुप भइदिएपछि देउवाले पनि कुनै तर्क प्रस्तुत गर्न सकेनन् । रामचन्द्र पौडेलले माओवादी नेताहरूको व्यवहारलाई ‘खेलाई–खेलाई’ जेठ १४ कटाइदिने र सडक तथा सत्ता दुवै ठाउँ कब्जामा लिएर अघि बढ्ने माओवादी रणनीतिअन्तर्गतको चालबाजीका रूपमा विश्लेषण गरेका छन् ।