माओवादी सत्ताको खेलमा नभएको उपमहासचिव पुनको जिकिर

माओवादी सत्ताको खेलमा नभएको उपमहासचिव पुनको जिकिर


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताएका छन् । प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सडक र सदनबाट जनताका आवाज उठाउने जिकिर गरे ।

‘हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ, सधैं सरकारमा हुँदा जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न लाग्छौँ, त्यसक्रममा आफ्ना कमजोरी जनतालाई भन्ने छौँ र सुधारको बाटोमा अघि बढ्ने छौँ’, नेता पुनले भने ।

यसअघि पार्टीअध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेकाले त्यसबाट जनता खुसी भएको उनको दाबी छ ।

वर्तमान सरकारले संविधान संशोधनको नारा लगाएको र समानुपातिक समावेशीलाई संशोधन गर्न खोजे त्यसको जनस्तरबाटै विरोध हुने तर्क गर्दै नेता पुनले सकारात्मक उद्देश्यसहित संशोधन गर्ने कार्यलाई भने स्वीकार गर्न सकिने बताए ।

photo: rss