नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक बुधबार (५ भदौ)देखि सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेता सहभागी भएका थिए । पार्टीको पदाधिकारी र स्थायी समितिले गरेका निर्णय सम्प्रेषण गर्ने र पार्टी सङ्गठन सुधारलगायत कार्यसूचीमा छलफल गर्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टी निर्माण एवं सङ्गठन विस्तारमा शीर्ष नेतृत्वदेखि कार्यकर्ता तहसम्म नै परिचालित हुने बताए । पार्टी निर्माणका क्रममा एकताबद्ध भएर अगाडि बढ्न उनले निर्देशन दिए । आफ्नो नेतृत्वको सरकार उच्च मनोबलका साथ बाहिरिएको र आम नेपाली जनतामा राम्रो छाप परेको जिकिर गर्दै उनले सुशासन, समृद्धि र आर्थिक विकासको मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाइएका कारण सरकार हटाइएको तर्क गरे ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक अगाडि माओवादी केन्द्रले तयारीस्वरूप हरेक प्रदेशमा परामर्श बैठक गर्ने निर्णय गरेको थियो । बैठक बिहीबारसम्म बस्नेछ । माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष सरल सहयात्री (पौडेल)का अनुसार सङ्गठन निर्माण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल प्रारम्भ भएको छ ।
माओवादी केन्द्रले बुध र बिहीबार बागमती प्रदेश, भदौ ७ र ८ गते उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक कार्यतालिका तय गरेको छ । यस्तै, यही भदौ ९ र १० मा गण्डकी प्रदेश, भदौ १२ र १३ मा सुदूपश्चिम प्रदेश, भदौ १४ र १५ मा कर्णाली प्रदेश, भदौ १६ र १७ मा लुम्बिनी प्रदेश र भदौ १८ र १९ तीनवटै केन्द्रीय आयोगका पदाधिकारी र केन्द्रीय सदस्य तथा भदौ २२ र २३ गते मधेस प्रदेशका केन्द्रीय सदस्यको बैठक बस्ने कार्यतालिका छ ।
केन्द्रीय विभाग, प्रवास, ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकार समितिको बैठकको समेत कार्यतालिका तय गरिएको जनाइएको छ ।
प्रतिक्रिया