भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच बुधबार (५ भदौ) भेटवार्ता भएको छ ।
भेटमा उहाँहरुबीच नेपाल-भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री डा. राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई उहाँमार्फत धन्यवाद व्यक्त गर्नुभएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले यही भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । त्यस्तै सोही दिन आफ्ना भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँगसमेत भेटवार्ता गर्नुभएको थियो ।
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुग्नुभएको थियो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा बिहीबार (६ भदौ) स्वदेश फर्कनुहुनेछ ।
प्रतिक्रिया