माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने प्रचण्डको विश्वास

माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने प्रचण्डको विश्वास


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार (८ भदौ) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिराखेको बताउनुभयो । उहाँले यसको परिणाम छिट्टै आउने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । “हामी सबैले सार्थक प्रयास गरेमा माओवादीमा जनमत फेरि फर्काउन सकिने विश्वास छ । केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु । आत्मविश्वासका साथ जनतामा गएर आत्मसमीक्षा गर्दा उल्लेखनीय परिणाम हासिल हुनेमा कुनै द्विविधा छैन, त्यसैले पार्टीको पक्षमा केन्द्रित भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गर्दछु”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गर्नुभयो । यसैगरी उहाँले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियासमेत अगाडि बढेको जानकारी दिनुहुँदै उहाँले त्यसका लागि नुवाकोटबाटै प्रतिनिधित्व गर्ने सांसद एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो पार्टीको सरकार भएका समयमा विभिन्न जनपक्षीय काम भएको उल्लेख गर्दैजनतालाई केन्द्रमा राखेर काम गरिएका कारण नै आफूहरूलाई सरकारबाट हटाइएको जिकिर गर्नुभयो ।

photo: rss