शेयर बजारमा उत्साह कायम राख्ने दायित्व सरकारकै काँधमा !

शेयर बजारमा उत्साह कायम राख्ने दायित्व सरकारकै काँधमा !


शेयर बजार लगानीकर्ताहरूले सार्वजनिक रूपमा कारोबार भएका कम्पनीहरूको शेयर खरिद बिक्रीm गर्नसक्ने थलो हो । त्यस्तो श्ोयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको ऐनाको रुपमा हेरिन्छ । कुनै देशको शेयर बजार परिसुचक उच्च छ, कारोबार उच्च छ, शेयर बजारले लगानीकर्ताहरूको मनोबल बढाइरहेको छ भने त्यस देशको अर्थतन्त्र पनि सवल, गतिशील एवं तथ्याकीय हिसावले पनि सही ठाउँमा छ भनेर हेरिन्छ । यदि शेयर बजारको नुर गिरेको छ, कारोबार उत्साहप्रद छैन, इन्डेक्सहरू घटिरहेका छन् भने त्यस देशको अर्थतन्त्र पनि ओरालो लागेको, मन्दीले घेरेको बुझाउँछ ।

तसर्थ, शेयर बजार र अर्थतन्त्रको सम्बन्ध अधिक छ । अझ शेयर बढ्छ कि बढ्दैन, शेयर बजारको विद्यमान उत्साह कायम रहन्छ कि रहँदैन ? भनेर आम जिज्ञाशा हुन्छ । त्यसको जवाफ सरकारको हातमा छ । अर्थतन्त्रको विद्यमान अवस्था र भविष्यको पुर्वाभाषमा भर पर्छ त्यो । कुनै सरकारले विकास निर्माणलाई तेजस्वी बनाउन सक्छ भन्ने आम पब्लिकमा आशा भयो भनेपनि शेयर बजारमा उत्साह देखिन्छ । तर सरकारप्रति, उसका नीतिप्रति र प्राथमिकताप्रति जनता अथवा लगानीकर्तालाई भरोसा भएन भने शेयर बजारले नकारात्मक दिशा समात्छ ।

अर्थतन्त्र र शेयर बजार

शेयर बजार अर्थतन्त्रको मुख्य खम्बा भएकैले पनि यसले व्यवसायको समुन्नति, औद्योगिक विकास मात्र होइन पुरै अर्थतन्त्रको स्वास्थ्यमा महत्वपुर्ण प्रभाव पार्दछ । संसारभरकै अर्थतन्त्रमा शेयर बजारले पार्ने प्रभाव करिव उस्तै र उही हो । त्यसकारण शेयर बजारको बारेमा नेताहरूले, त्यसमा पनि जनतामा प्रभाव रहेका नेताहरूले (वर्गीय समाजमा सबै नेताहरूको आ-आफ्ना प्रभाव हुन्छन् नै) बेला कुबेला शेयर बजारप्रति नकारात्मक धारणा राख्नु सर्वथा गलत हो । त्यसकारण पनि जनताको अथाह लगानी रहेको शेयर बजारप्रति बोल्दा कुनैपनि देशका गर्भनर, सरकारका आर्थिक सल्लाकार, बजारसँग सम्बन्धित संस्थाका अधिकारीहरूले संवेदनशीलतामाथि आघात पुऱ्याउँदैनन् ।

फेरि शेयर बजार यस्तो प्लेटफर्म हो जहाँ कम्पनीहरूले पुँजी उठाउँछन् र, लगानीकर्ताहरूले आफ्नो सम्पत्ति बढाउँछन् । यी दुबव गतिविधिले शेयर बजारलाई र समग्र अर्थतन्त्रलाई पनि सहयोग पुग्दछ । पछिल्लो समय त धेरैजसो ठुला व्यवसायिक संघ-संगठन, उत्पादनमुक कम्पनीहरू समेत नेपाल स्टक एक्चेन्ज (नेप्से)मा क्रमशः सुचिकृत हुन थालेपछि शेयर बजारमा हुने ब्यापारले आम नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्न थालेको छ । हरेक उत्पादन, रोजगारी र हामीले बनाउने योजनाहरूमा पनि त्यसले असर गर्दछ । त्यसकारण शेयर बजार र अर्थतन्त्र एकअर्कामा अन्योन्याश्रित छन् । दुवैलाई अलग्गै राखेर हेर्न नसकिने अवस्था छ । त्यसकारण शासकहरूले शेयर बजारलाई ‘इग्नोर’ गरेर अघाडि बढ्न सक्दैनन् ।

शेयर बजारको ट्रेन्ड बुझ्न समग्र अर्थतन्त्रको हालत केलाउन जरुरी छ । बाठा र व्यवसायिक लगानीकर्ताहरूले शेयर बजार मुल्यहरू र प्रक्षेपण बुझ्न आर्थिक डाटाहरू स्क्यान गर्छन् । तर हामीकहाँ शेयर बजारको विश्लेषण केही प्राविधिक शब्दावलीहरू रचेर, कम्पनीहरूका आशिंक नाफा घाटा केलाएर, गोयबल्स हल्लाहरू चलाएर, लगानीकर्ताहरूलाई अल्मल्याएर गरिन्छ । तर, कुरा यत्ति हो कि, शेयर बजारको दिगो बढोत्तरीको लागि सरकारले ल्याउने केही आशाप्रद नीतिले मात्र होइन अर्थतन्त्र नै सवल र निरन्तर अगााडि बढेको हुनुपर्छ । त्यसले मात्र शेयर बजारको उत्साह कायम गराइराख्नेछ । अन्यथा त्यो दिगो हुन सक्दैन । जसरी शेयर बजारमा लगानी गर्नेहरूले देशको आर्थिक अवस्थाको मुल्याकन गर्छन् त्यसरी नै देशको अर्थव्यवस्थाको प्रक्षेपण गर्न शेयर बजार सुचकाङ्कंहरूको ट्रयाक राख्ने गरिन्छ ।

यद्यपि, शेयर बजारमा विभिन्न अरु कारकतत्वहरूको प्रभाव रहन्छ । जसले राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा असर गर्दैन । उदाहरणका लागि प्राकृतिक प्रकोप, ब्याजदरदेखि करको दरसम्म सबै कुराले शेयरको मुल्यमा असर गर्छ । तर अर्थतन्त्रमा त्यसको तात्विक असर भने हुँदैन । अर्को शेयर खरिद वा लाभासंमा प्रत्यक्ष प्रभाव पार्ने कानुनमा कुनै परिवर्तन भएमा त्यसले प्रत्यक्ष रुपमा शेयरको मुल्यमा असर गर्छ । खासगरी शेयर बजारले कुनैपनि घटना वा परिवर्तनमा तिव्र प्रतिकृया दिन्छ, तर कुल ग्राहस्थ उत्पादनमा भने त्यस्ता परिवर्तनले असर गर्दैन ।

यसरी समग्रमा अर्थतन्त्र र सेयर बजार एकअर्कामा मिलाएर चल्छन् । तर, सधैं भने होइन । सेयर बजार र आर्थिक कार्यसम्पादन सधैँ मिल्दैन । अर्थात् बलियो सेयर बजारको प्रर्दशनले सधैं बढ्दो अर्थतन्त्रलाई पनि इङ्गित गर्दैन । तर धेरैजसो अवस्थामा देशको आर्थिक सुदृढीकरण र गतिशीलताले शेयर बजारलाई साथ दिन्छ ।

नेपालमा सेयर बजार

नेपालमा केही वर्षयता आर्थिक क्षेत्रमा आएको शिथिलता, बढ्दो बेरोजगारी, युवा पलायन, उपभोक्ता मागमा आएको कमी लगायत अरु विभिन्न कारणले शेयर बजार निरन्तर गिरेको हो । कोभिड १९ र रुस युक्रेन युद्धको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको हो । तर पछिल्लो एक वर्षयता नेपालको अर्थतन्त्रको बाह्य परिसुचक निरन्तर सुधारिएको देखिन्छ । रेमिट्यान्स गत आर्थिक बर्षमा १४ प्रतिशतले बढेर १४ खर्ब पार गरेको अवस्था छ । विदेशी विनिमय सञ्चिति २० खर्ब अर्थात १३ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ ।

आयात र निर्यात दुबै घटेपनि शोधानान्तर घाटाको अवस्था सुधारिएर नाफामा पुगेको छ । बैंकहरूमा न्युन तरलताको अवस्था सुधारिएर प्रर्याप्त तरलताको अवस्था छ । मुद्रास्फीति सन्तुलित हुँदै गएको छ । र, केपि ओली नेतृत्वको नयाँ सरकार आएपछि शेयर बजारले पनि लय समात्न थालेको देखिन्छ । अर्थात् अबचाहिँ केही हुन्छ भन्नेजस्तो लगानीकर्ताको मनोबल बढ्न थालेको छ ।

शेयर बजारमा सुचिकृत कम्पनीहरूको अघिल्लो आर्थिक वर्षभन्दा गत वर्षको वित्तीय विवरणहरू निकै सुधारिएर आएको अवस्था छ । यत्ति हो, नयाँ सरकारले पुँजीगत खर्च बढाउनुपर्ने, राजस्व आय बढाउनु पर्ने, आर्थिक गतिशीलतालाई बढाउनु पर्ने आवश्यकता देखिन्छ । त्यसको लागि सरकारकै स्वायत्त निकाय राष्ट्र बैंकले आर्थिक गतिविधि बढाउन खुकुलो गरी मौद्रिक नीति ल्याइसकेको छ । जसले घरजग्गा तथा अन्य साना तथा मझौला उद्यम व्यवसायका लागि भुमिका खेल्ने आशा गर्न सकिन्छ । फलस्वरुप अर्थतन्त्रमा सुधार आउनेछ् । जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्नेछ । यसरी शेयर बजार र समग्र देशको अर्थतन्त्रबीच गहिरो एवं अन्योन्याश्रित सम्बन्ध छ । फलस्वरुप अर्थतन्त्र उकालो लाग्दा वा लाग्ने अवस्था सिर्जना हुँदा निश्चित रुपमा शेयर बजार बढ्छ । ओरालो लाग्ने अवस्था देखिए शेयर बजार घट््छ ।