डा. मुकुलको प्रष्टोक्ति : ‘पतित पात्रको क्लबबाट निस्कासित भएको हुँ’

डा. मुकुलको प्रष्टोक्ति : ‘पतित पात्रको क्लबबाट निस्कासित भएको हुँ’


‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार रविशरण लामिछानेको क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनैपर्छ । नैतिकरूपले पतित पात्र लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ’- राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी हटाइएको पूर्व महामन्त्री डा. मुकुल ढकालले लेखेका छन् ।

उनले सहकारी प्रकरणका सवालमा रास्वपा सभापति लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप पनि लगाएका छन् ।

‘यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुऱ्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र, फेरि पनि नैतिकरूपले पतित् रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन’- डा. ढकालले सामाजिक सञ्जालमा लेखेका छन् ।

ज्ञातव्य छ, केही दिनअघि मुकुलले रवि लामिछानेलाई सम्बोधन गर्दै ठग, भ्रष्ट र अपराधिबाट पार्टी बचाउनु आवश्यक रहेको आशयसहित सार्वजनिक वक्तव्य पनि जारी गरेका थिए ।