मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो


धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार (११ भदौ) साँझ पुनः हिउँपहिरो खसेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका-२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको जानकारी दिएका छन् ।

‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ, हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ’, प्रवक्ता शेरचनको भनाइ छ ।

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । मंगलबार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी-जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका-२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।

तस्बिर : रासस