नेकपा एस पदाधिकारी निर्वाचन : अठार केन्द्रीय पदाधिकारी चयन

नेकपा एस पदाधिकारी निर्वाचन : अठार केन्द्रीय पदाधिकारी चयन


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अठार जना केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार (११ भदौ) नै सर्वसम्मतिले निर्वाचित भएका थिए भने आज (१२ भदौ) सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला)मा जगन्नाथ खतिवडा, डा. गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् ।

यसैगरी, उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, गरिमा शाह र रामकुमार भट्टराई निर्वाचित भएको सो पार्टीको निर्वाचन आयोगले जनाएको छ । पार्टीको सचिव पद (समावेशी)मा बलदेव चौधरी र सचिव (दलित)मा गणेश विक, सचिव (खुला)मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन भएको जनाइएको छ ।

पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम बुधबार साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिएका छन् ।

उक्त पार्टीको गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।