✍ डिल्ली अम्माई
सबैको लागि पहिचान बचाउन
फेरि अर्को झण्डा उठाएको छु
कैयौँ पटक निचोरिएको म
प्रवास भासिएर ननिचोरिने भएको छु।
निसास्सिएर झन्डै मर्नै लागेको म
नक्कली झण्डाको फेरोबाट फुत्केर
अर्कैको माटोमा उभिएका मेराहरुको बीच
मेरै पहिचानको झण्डा उठाएको छु।
अफसोच !
देश बनाउँछु भन्नेहरुको पछि लागियो
नेताहरुको भाषणमा आफ्नो भविष्य कोर्दै
दुःखी मन हल्का बनाउँदै
बैंसको उत्तरार्द्ध सबै छिचोलियो
गाउँ जाँदा शहर सम्झेँ
प्रवाश पुग्दा निवास सम्झेँ
जीवनको उर्जा पार्टीलाई सुम्पेँ ।
बालककालका साथीहरु गाँउतिर छैनन्
दुःख काट्ने करौंती किन्न
कोही खाडीका भेडीगोठमा छन् ।
अफ्रिका र मलेशियामा बालुवा चाल्दै
नुनिला पसिनासँग ज्यान धोइरहेका छन्
साकुराको भूमिमा खाने थाली माझेर
भविष्यको दुःख धोइरहेका छन् ।
म बेल्जियमको वैभवमा
जाडोको गलबन्दी बेरेर
पार्टीको दर्शन र सिद्धान्त सम्झँदै
अविश्रान्त वर्तमान खोजिरहेको छु।
नेताको मिसनभित्रको घात
मेरै जीवनीले उत्तर दिन मान्दैन
किताबको किरो ब्यवहारको जिरो यहीहोला सायद
अनुत्तरित्त छु ।
आज मेरो दर्शन बाटो बनेन
बाटोले डिलमा पुगेर तल हुत्त्याइदियो
युवाकालको लक्ष्य भत्कियो
नेताहरुको चाल बेहाल देखियो ।
अब विश्वास रहेन नेतृत्वसँग
बोक्न छाडी दिएँ पार्टीको गह्रुँगो झन्डा
छिनछिनमै बदलिने युरोपको मौसम
कुलिनहरुका बदलिइरहने पहिरन जस्तै
नेताहरुको मौसमी भाषण
प्रवाशतिरै सेलाएर फ्याँके ।
अब समग्र पहिचानको कविता
दुःखीका पाखामा घन्केका लय
पिरतीको सालेजो
हराएका मान्छेहरुको पहिचान
मेरो मनमा टाँसिएको छ
कुटिल तन्त्रबाट मुक्त भएको छु।
प्रतिक्रिया